अघिल्लो दिन नकारात्मक सर्किट लागेर कारोबार अवधि पुरा नहुँदै बन्द भएको नेप्से मंगलबार भने सकारात्मक लयमा देखिएको छ ।
मंगलबार बजार खुलेको पहिलो १५ मिनेटमा उच्चदरले घटेको नेप्से क्रमश सम्हालिदै बन्द हुने समयसम्म आईपुग्दा कारोबार खुलेको विन्दु भन्दा १४ अंक माथि पुगेको छ ।
सुरुवाती कारोबारमा निकै उताचढाबपूर्ण देखिएको नेप्सेमा १२ बजेर ४१ मिनेट पुगेपछि कारोबार हुन सकेन् । ब्रोकरको डाटा सिस्टममा समस्या देखिएपछि करोबार झण्डै ५५ मिनेट रोकिन पुग्यो । 
नेप्सेले ब्रोकरको डाटा सिस्टममा समस्या देखिएको बताएपनि ब्रोकरहरुले यसलाई अस्विकार गर्दै समग्र सिस्टममा समस्या देखिएको बताएका थिए । तर केही लगानीकर्ता र बजार विश्लेषकहरुले भने बजार खुलेको अघिल्लो घण्टामा नेप्सेमा तीब्रउतारचढाब आएपछि प्रायोजित रुपमा सिस्टममा समस्या ल्याएइको आरोप समेत लगाएका थिए ।
तर ५५ मिनेटपछिको ब्रेक पछि खुलेको नेप्सेले सकारात्मक लय लिएको छ । ब्रेकपछि खुलेको कारोबारमा अस्वभाविक उतारचढाब समेत देखिएन् ।
मंगलबार नेप्से सूचक १४.३७ अंकले बढेर १५०९.६७ अंकमा पुगेको छ।
यसदिन बजारमा १८१ कम्पनीको ३ अर्ब ८५ करोड बढीको शेयर किनबेच भएको छ । बजारमा उतारचढाब देखिएपनि पछिल्लो समयमा कारोबार रकमले भने बजारलाई साथ दिदै आएको छ । कारोबार रकमले साथ दिएकाले लगानीकर्ताको आत्मबल समेत बढ्दै गएको छ ।
मंगलबारको बजारमा अधिकांस लघुवित्त कम्पनीहरुको शेयर मूल्यउच्चदरले घटेको छ । राष्ट्र बैंकले लाभांश वितरणमा केही कडाई गरेपछि यसको प्रभाव लघुवित्तको शेयरमा देखिएको हो।
यसदिन सबैभन्दा धेरै नेपाल लाइफको ४० करोड बढीको शेयर किनबेच भयो । एनएमबि बैंकको २५ करोडको कारोबार भएको बजारमा एनआईसी एशिया, हिमालय डिष्टलरी, नबिल तथा एभरेष्ट बैंक लगायतको कारोबार उच्च भयो ।
मंगलबारको कारोबारमा सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स र नेपाल हाइड्रोको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ भने आधादर्जन बढी लघुवित्तको शेयर मूल्य ८ प्रतिशत बढीले झरेको छ । सबैभन्दा धेरै स्वदेशी लघुवित्तको शेयरमूल्य दश प्रतिशतले ओरालो लागेको छ । यसदिन कारोबारमा आएका १२ उपसमूहमध्ये लघुवित्त, व्यापार र अन्य बाहेक सबै समूहका सूचक सकारात्मक रहे ।










प्रतिक्रिया