नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा चौथो दिन सवा ४ बजेसम्म ४ लाख बढीले आवेदन गरेका छन् । यो हालसम्म निष्कासन भएका आईपीओमध्यकै उच्च आवेदन हो । 
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार चैत ७ गते शुक्रबार ४: १५ बजेसम्म ४ लाख २ हजार २०३ आवेदन परेको छ । जसबाट ५ अर्ब ४८ करोड ३० लाख हजार रुपैयाँ बराबरको ५ करोड ४८ लाख ३० हजार कित्ता शेयर माग भएको हो। पुर्नबीमा कम्पनीको परेका आईपीओको आवेदन संख्या हाल सम्मकै उच्च हो।
यो सर्वसाधारणका लागि निष्काशन गरिएको (१ करोड ५१ लाख २६ हजार ५०० कित्ता) कित्ताको २.९७ गुणा बढी आवेदन हो।
कम्पनीले चैत ४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो। कूल १ करोड ६० लाख कित्ता शेयर बिक्रीमा ल्याएकोमा ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी शेयर सर्वसाधारणबाट आवेदन खुला गरिएको हो।
इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
कम्पनीको आईपीओ निष्काशन आजै कार्यालय समय पश्चात बन्द हुनेछ। सबै शेयर बिक्री भैसकेकाले कम्पनीको धितोपत्र शुक्रबार कार्यालय समयपश्चात नै निष्काशन बन्द हुने भएको हो।










प्रतिक्रिया