भारतमा ‘लकडाउन’: दिल्ली सरकारले प्रत्येक मजदुरलाई पाँच–पाँच हजार भारु दिने

0
Shares

कोरोना भाइरस (कोभिड १९) को बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै भारतमा २१ दिने लकडाउनको घोषणा गरिएको छ ।

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार निर्माण कार्यमा संलग्न मजदुरलाई लिएर महत्त्वपूर्ण घोषणा गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण निर्माण कार्यमा संलग्न मजदुरहरुको जीविका प्रभावित भएको केजरीवालले बताए ।

यस्तो अवस्थामा दिल्ली सरकारले प्रत्येक मजदुरलाई पाँच–पाँच हजार भारु दिने बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर २१ दिने लकडाउनको घोषणा गरेका थिए, जसमा अरविन्द केजरीवालले ट्वीट गरेका छन् ।

केजरीवालले ट्वीटमा भने, ‘कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको लकडाउन निकै आवश्यक छ । आउँदो तीन हप्तासम्म कुनै आवश्यक वस्तुको सप्लाइमा कमी आउन दिनेछैन । यो मश्किल समयमा हामी तपाईँहरुको सबै आवश्यकताको ख्याल राख्नेछौँ ।’

दिल्ली सरकारको यो घोषणापछि झण्डै ४६ हजार मजदुरलाई फाइदा हुने बताइएको छ । साथै दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण नदेखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिए ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  ११ : ३६ बजे