नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा, के होला अवस्था ?


सुदुर पश्चिममा फरक फरक स्थानका तीनजनामा एकै पटक कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपाल कोरोना संक्रमणको जोखिमका आधारमा दोस्रो चरणमा प्रवेश गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई कुल चार चरणमा विभान गरेकोमा शुक्रबारसम्म नेपाल पहिलो चरणमा नै रहेको थियो ।

शनिबार विदेशबाट आएका कोरोना संक्रमितको परिवार भित्रका सदस्यमा कोरोना संक्रमण देखिएसँगै नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो ।

विश्व स्वास्थ्य संगठनले दोस्रो चरणको संक्रमणलाई फाट्ट फुट्ट रुपमा एक वा सोभन्दा बढी संक्रमण आयातित संक्रमित व्यत्तिको सम्पर्कबाट स्थानीयमा देखिने संक्रमणका रुपमा व्याख्या गरेको छ ।

शनिबारको घटनालाई हेर्ने हो भने सातौं संक्रमितको रुपमा पुष्टि भएकी धनगढीकी महिला यस अघि चौथो संक्रमण पुष्टि भएका व्यक्तिको भाउजु हुन् । ३४ वर्षीय ती महिलामा घर भित्रबाट अर्थात चैत ११ गते अस्पताल भर्ना भएर संक्रमण पुष्टि भएका व्यक्तिकी भाउजु हुन् ।

चौथो संक्रमित ती व्यक्ति दुवईबाट स्वदेश फर्किए पछि घरमा केही दिन बिताएर मात्र उपचारका लागि अस्पताल पुगेका थिए । एउटै परिवार भित्र बस्दा उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य मध्ये उनकी भाउजुमा कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका अरु सदस्यको अवस्था अझै थाहा हुन सकेको छैन ।

विश्व स्वास्थ्य संगठनले विभाजन गरेको चरणका आधारमा यो संक्रमणलाई आयातित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कबाट फाट्टफुट्ट देखिने संक्रमणको रुपमा लिन सकिन्छ ।

शनिबार नै कञ्चनपुरका थप २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएका दुवै जना भारतबाट आएका हुन् ।

विश्व स्वास्थ्य संगठनले वर्गीकरण गरेका कारेराना संक्रमणका चार चरणहरुमा पहिलो चरणमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र संक्रमण देखिनु हो । यस अघिसम्म नेपालमा संक्रमण पुष्टि भएका सबै व्यक्तिहरु विदेशबाट नेपाल आएका थिए ।

दोस्रो चरणमा आयातित संक्रमित व्यत्ति अर्थात विदेशबाट आएका संक्रमितको प्रत्यक्ष सम्पर्कबाट स्थानीयस्तरमा देखिने एकाध संक्रमण हो । धनगढीकी महिलामा देखिएको संक्रमणलाई यो चरणमा लिन सकिन्छ ।

तेस्रो चरणमा कहिँ कतै नगएका र बिदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूमा भौगोलिक तथा क्षेत्रगत आधारमा सामुहिक रुपमा देखिने संक्रमण हो । यो अवस्था अझैसम्म नेपालमा देखिइसकेको छैन ।

चौथो चरणमा महामारीको रुप अर्थात तिब्र गतिमा संक्रमितको संख्या कुनै पनि स्थान वा क्षेत्रमा सामुहिक रुपमा वा एक पछि अर्को गर्दै बढेर नियन्त्रण बाहिरको अवस्थामा पुग्नु हो । यो अवस्था पनि अहिलेसम्म नेपालमा देखिएको छैन ।

विश्व स्वास्थ्य संगठनले संक्रमित व्यक्तिमा पनि संक्रमणका तीन चरणहरुलाई वर्गीकरण गरेको छ । जसमा श्वासप्रस्वास सम्बन्धी समस्याका आधारमा रुघा खोकीको अवस्था, स्.क्रमितहरु भएको स्थानमा पुगे नपुगेको अवस्थाका आधारमा संक्रमितलाई पहिलो चरणमा राखिएको छ ।

दोस्रो चरणमा स्वासप्रस्वास सम्बन्धि गम्भीर रोग देखिएको अवस्थाका साथै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसँगको प्रत्यक्ष सम्पर्क गएका व्यत्तिलाई दोस्रो चरणमा राखिएको छ । धनगढीकी सातौं संक्रमित महिलाको हकमा यो चरण पनि आकर्षित हुन्छ ।

तेस्रो चरणमा श्वास प्रस्वासमा गम्भीर समस्या हुँदा हुँदै पनि रोग पुष्टि भैनसकेकाहरुलाई राखिएको छ ।

जोखिम बढ्यो

सरकारले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै लकडाउन घोषणा गरेको २ साता पुग्नै लागिसकेको छ । तर, परीक्षणमा देखिएको सुस्तता र विदेशबाट आएकाहरुको परिवार, निकट सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान अझै प्रभावकारी रुपमा हुन सकिरहेको छैन । अर्कातिर हामीले विदेशबाट आएकाहरुलाई मात्र संक्रमण देखिएको हो भन्दै अवस्थालाई सामान्य रुपमा लिइरहेका छौं ।

शनिबार धनगढीको घटनाले परिवार भित्रबाट अरु कति व्यक्तिमा संक्रमण फैलिएको होला वा यस अघिका अन्य संक्रमितहरुको सम्पर्कबाट कति व्यक्तिमा संक्रमण फैलियो र त्यो संक्रमणका रुपमा अझै देखा परेको छेन भन्ने अवस्थालाई गम्भीर रुपमा लिनु पर्ने देखिन्छ ।

व्यक्तिबाट परिवारसम्म संक्रमण फैलावटको अवस्था देखिइ सकेको अवस्थामा परिवारबाट समुदायमा पुगेको छेन भन्ने आधार छैन । यो अवस्थामा सजगता अपनाउँदै जोखिमलाई सबैले गम्भीरताका साथ लिनु पर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनले भने अनुसार अब तेस्रो चरणमा परिवारबाट समुदायमा संक्रमण फैलिन थाल्यो र भुगोल तथा क्षेत्रका आधारमा सामुहिक रुपमा संक्रमण तिब्र बन्यो भने हाम्रो अवस्था सोचेभन्दा बिलकुल फरक हुनेछ । चौथो चरणको त हामी कल्पना समेत गर्न सक्ने अवस्थामा छैनौं ।

तसर्थ सावधानी अपनाउनुभन्दा बुद्धीमानी अरु विकल्पमा छैन । सबैले आफु र समाजप्रतिको जोखिमलाई ध्यानमा राख्नै पर्ने बेला भएको छ । अर्थात हामीले यस अघि कोरोना संक्रमणको विषयलाई जति सहज रुपमा लिएका छौं, त्योभन्दा गम्भीर बन्नु पर्नेछ ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।