साना व्यवसायका लागि जापानद्धारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था

0
Shares

जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो ।

बैंक अफ जापानले यसअघि पनि साना तथा मझौला उद्योग व्यवसायका लागि सहुलियत दरमा ठूलो परिमाणको ऋण व्यवस्था गरेको थियो ।

कोरोनाभाइरसबाट विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नु अघि नै जापानी अर्थव्यवस्था प्राकृतिक प्रकोप र उपभोग्य वस्तुमा बढाइएको करबाट निकै ठूलो संकटमा थियो ।

सोमबार प्रकाशित आर्थिक विवरणमा सन् २०२० को पहिलो चौमासिक अवधिमै जापानको अर्थतन्त्र मन्दीमा रहेको देखिएको छ । जापानी अर्थशास्त्रीहरुले जापानको अर्थव्यवस्थामा अझै ठूलो संकट आउने अनुमान गरेका छन् ।

गत महिना जापानको केन्द्रीय बैंकले अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा कोरोनाभाइरसका कारण सिर्जित समस्या सुल्झाउन नयाँ मौद्रिक नीति अघि सारेको थियो ।

प्रकाशित मिति: १० जेठ २०७७, शनिबार  ०७ : ३३ बजे