चीनले मानिसमा गरेको कोरोना भ्याक्सिन परीक्षण सफल

0
Shares

चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ (एडेनोभाइरस ५) भ्याक्सिन सफल भएको छ ।

लेनसेट जर्नलमा शुक्रबार प्रकाशित रिपोर्ट अनुसार २८ दिन अघि १८ देखि ६० वर्षसम्मका १०८ जना व्यक्तिहरुमा दिईएको यो भ्याक्सिनले सुरक्षित रुपमा ईम्युन क्षमता बढाएको पाईएको छ । भ्याक्सिनको एक डोजले नै दुई हप्ताभित्र ‘टी सेल्स’ भनिने प्रतिरक्षा कोषहरू उत्पादन भएको देखियो। 

यसले कोरोना बिरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको छ । यो कोरोना महामारीबाट प्रताडित मानवजातिका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ, लेनसेटले लेखेको छ ।

अब यसको अन्तिम मुल्याकंन ६ महिना भित्र भईसक्ने लेनसेटले उल्लेख गरेको छ । अनुसन्धानकर्मीहरूले तीन डोजको प्रयोग गरेकामध्ये माथिल्लो डोज सबैभन्दा बढी प्रभावकारी भएको थियो।

भ्याक्सिन परीक्षण गरिएका व्यक्तिमध्ये ८० प्रतिशतमा कुनै न कुनै प्रकारको असर (साइड इफेक्ट) पनि देखिएको छ। सुई लगाएको ठाउँमा दुख्नेबाहेक आधाजसोमा ज्वरो आउने, थकान महसुस हुने, टाउको दुख्ने भएको छ भने पाँचमध्ये एकमा मांसपेशी दुख्ने भएको छ।

कोविड विरुद्ध यसले पैदा गर्ने ईम्युनिटिले कति सम्म प्रतिरोध गर्न सक्छ भनेर अन्तिम नतिजाका लागि अझै केही परीक्षण आवस्यक परेको लेनसेटको बिज्ञप्तिमा उल्लेख छ ।

यो सुरक्षित ईम्युनको विकासले कोरोनाबाट शतप्रतिशत सुरक्षित गर्न सक्ने वा नसक्ने अझै केही समय थप परीक्षणमा लाग्ने उल्लेख गरिएको छ । चिनियाँ जनमुक्ति सेनाकी प्रोफेसर वेई चियनको नेतृत्वमा यो भ्याक्सिन तयार भएको सिनह्वाले लेखेको छ । यी खोपहरुबाट सबैमा सकारात्मक असर देखिएको जनाईएको छ

यसअघि अमेरिकी औषधि अनुसन्धान र उत्पादन गर्ने संस्था ‘मोडर्ना’ ले ५ जेठमा आफूले निर्माण गरेको भ्याक्सिन ८ जनामा त्यसको परीक्षण गरेर सुरक्षित र प्रभावकारी भएको बताएको थियो।

त्यस्तै ७ जेठमा डा। ब्यारुच र उनको समूहले आफूले आविष्‍कार गरेको भ्याक्सिनले बाँदरहरूलाई कोरोना भाइरसबाट सुरक्षित बनाएको रिपोर्ट सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: १० जेठ २०७७, शनिबार  १७ : ३५ बजे