भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ ।
काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौँ महानगरपालिकामा सवारी चालकका रुपमा काम गर्ने ती पुरुष आज घर फर्किएसँगै भक्तपुर कोरोना भाइरस मुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
भक्तपुरमा अहिलेसम्म सङ्क्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर– ९ की महिला जनप्रतिनिधि गरी चारै जनाले कोरोनालाई जितेर फर्किएपछि जिल्ला कोरोना मुक्त भएको हो।
सङ्क्रमितका परिवार, उनीहरुसँग सम्पर्कमा आएका व्यक्ति र छिमेकीको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो । कोरोनाको जोखिम भने कायमै रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले लकडाउनको पालना गर्न र अत्यावश्यक काम बाहेक बाहिर नस्किन आम भक्तपुरवासीलाई आग्रह गरेका छन्।
कपिलवस्तुमा एकैदिन ७७ मा कोरोना संक्रमण
एकै दिन ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार भेटिएका संक्रमितमध्ये दुई महिला र अन्य पुरुष छन् । दश पालिकामध्ये आज महाराजगञ्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा गाउँपालिकामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
संक्रमितहरु तीन साताअघि भारतका विभिन्न शहरबाट आई क्वारेन्टिनमा बसेको प्रजिअ पौडेलले बताए। महाराजगञ्जका १६ देखि ४५ वर्षसम्मका ३३ पुरुष छन् । स्वास्थ्य संयोजक राधेश्याम कलवारका अनुसार वडा नं १ र २ का एकएक, वडा नं. ४ का दुई, वडा नं ७ का तीन, वडा नं ८ का १५, वडा नं ९ का सात र वडा नं १० का सात जना छन् । सोमबार २६० जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकामा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको संयोजक कलवारले बताए ।
संक्रमितलाई महाराजगञ्जको जानकी माविमा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारी गरिएको कलवारले बताए। कृष्णनगरका १८ देखि ४५ वर्षसम्मका १६ पुरुषमा संक्रमण भेटिएको छ । स्वास्थ्य संयोजक अनिल विश्वकर्माका अनुसार भेटिएका संक्रमित वडा नं ६ का नौ, वडा नं ७ का तीन, वडा नं १० का दुई र वडा नं १२ का एक जना छन् । अर्का एक जनाको भने ठेगाना खुल्न नसकेको उनले जानकारी दिए।
गत आइतबार १६७ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकामा १६ जनाको रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।
त्यस्तै यशोधरा गाउँपालिकाका १६ देखि ४८ वर्षसम्मका पुरुष २६ तथा २५ र १९ वर्षीया दुई महिला छन् । यशोधराका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुवेका अनुसार संक्रमित वडा नं ४ का सात, वडा नं ५ का १३ र वडा नं ८ का आठ जना छन् । भेटिएका संक्रमितको स्वाब यही जेठ १२ गते काठमाडौँको जनस्वास्थ्य प्रयोगशाला पठाइएको उनले बताए । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। तिनमध्ये १५ जना कोरोना जितेर घर फर्किसकेको जनाइएको छ ।
- पिसिआर विधिलाई व्यापक बनाउन निर्देशन
सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले कोभिड–१९ को परीक्षणका लागि आरडिटी विधि प्रभावकारी नदेखिएको भन्दै सो विधिलाई तत्काल न्यू्नीकरण गरी पिसिआर विधिलाई व्यापक बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले नेपाल–भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टिनलाई अझै व्यवस्थित गर्न र पिसिआर परीक्षणको सङ्ख्या बढाउनका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य डा. दीपकप्रकाश भट्टले जानकारी दिए।
प्रतिक्रिया