जेठ २५ गतेसम्म कर तथा कर विवरण नबुझाएमा जरिवाना तिर्नुपर्ने

0
Shares

आन्तरिक राजस्व विभागले लकडाउन जारी रहेपनि कर बुझाउने म्याद थप नगर्ने भएको छ । विभागले यसअघि जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएकोमा अब समय नथप्ने जनाएको हो।

विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ।

लकडाउन जारी रहे पनि जेठ २५ गते सम्ममा व्यवसायीले बुझाउनुपर्ने सम्पूर्ण कर बुझाउनुपर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए । उक्त अवधिमा कर विवरण तथा कर नबुझाएमा नियम अनुसारको शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताए।

कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण सरकारले कर विवरण, आय विवरण तथा कर दाखिला गर्ने म्याद पटक पटक थप्दै जेठ २५ गतेसम्म कायम गरेको थियो। सोही निर्णय अनुसार विभागले कर विवरण र कर तिर्न सूचना जारी गरेको हो।

सरकारले चैत ११ गते लकडाउन गरेपछि कर तिर्ने समय पनि पछि सारेको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।