नेपाल धितोपत्र बोर्डले करिब ३ महिना देखि बन्द रहेको शेयर बजार तत्काल खुलाउनुपर्ने दबाब बढ्दै गएपछि ढिलाइ गर्न समिति गठन गरेको छ। बोर्डले बजार खुलाउन उपयुक्त भए नभएको अध्ययन गर्नका लागि बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरी थप ढिलाई गर्ने योजनामा रहेको देखिन्छ।
सरकारले कोरोना भाइरसको महामारी सुरु भएसँगै सरकारले संक्रमण नियन्त्रण गर्नका लागि चैत ११ गते देखि लकडाउनपछि धितोपत्र बजार बन्द गरियो । सरकारले लकडाउन गरेका कारण देखाउँदै शेयर बजार बन्द गरियो। सरकारले लकडाउन लम्बाएसँगै शेयर बजार पनि निरन्तर बन्द रह्यो ।
तर, धितोपत्र ऐन २०६३ अनुसार विशेष अधिकारको रुपमा धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिनेसक्ने व्यवस्था रहेको छ। ऐन अनुसार पनि धितोपत्र बजार तीन महिनासम्म बन्द गरिनु उपयुक्त देखिँदैन। 
धितोपत्र बोर्डले ऐनको मर्म विपरित गएर बजार बन्द गराउँदा समेत धितोपत्र बोर्डले अध्ययनको आवश्यकता ठानेन। त्यसका साथै लकडाउका बीचमा (बैशाख ३० र ३१ गते) नयाँ कारोबार संयन्त्र बनाएर धितोपत्र बजार खुलाएको अवस्थामा समेत अध्ययन गर्न जरुरी नठानेको धितोपत्र बोर्डले लकडाउन खुकुलो भई सम्पुर्ण बजार सुचारु भएको अवस्थामा धितोपत्र बजार खुलाउनका लागि अध्ययन समिति गठन गरेको छ ।
अन्य सम्पुर्ण ब्यापार व्यवसाय सुचारु भैसक्दा पनि धितोपत्र बजार खुलाउन अध्ययन समिति गठन गर्नु भनेको बजार अझै पनि खुलाउनका लागि ढिलाई गर्न खोजेको एक लगानीकर्ताले बताए ।
“जटिल अवस्थामा बजार खुलाउनु र बन्द गर्न अध्ययन समिति आवश्यक नरहेको अवस्थामा अहिलेको केही समुहको स्वार्थ पूरा गर्नका लागि बजार बन्द गरिएको हो ?” ती लगानीकर्ताले भने, “धितोपत्र बोर्डको बजार नियामकको रुपमा योग्य नै देखिएन ।” कोरोनाका कारणले लामो समयसम्म बन्द रहेको शेयर बजार नेपालको मात्रै हो। नेपाल बाहेक अन्य केही मुलुकले पनि धितोपत्र बजार बन्द गरेको भएपछि छोटो अवधि बन्द गरेपनि सुचारु गरिसकेका थिए। तर, नेपालको सन्दर्भमा लकडाउन नभएको अवस्थामा समेत बजार बन्द गर्नु भनेको धितोपत्र बोर्डको असफलता हो ।
नेपालको संविधान २०७२ को मौलिक हक अनुसार पनि प्रत्येक नागरिकलाई कानूनको अधिनमा रहि सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायीक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हकको व्यवस्था रहेको छ । तर, धितोपत्र बोर्डले सर्वसाधारणको मौलिकहकलाई समेत उपेक्षा गरेर धितोपत्र बजार सुचारु गरेको छैन ।
धितोपत्र बजारसँग सम्बन्धित नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सीडीएसी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल कम्पनीहरुले नियमित रुपमा कार्यालय सञ्चालन गरेको अवस्थामा पनि धितोपत्र बोर्डले कारोबार प्रणाली बन्द गर्न नेप्सेलाई निर्देशन दिएपछि अन्य गतीविधि सुचार भैसक्दा पनि शेयर बजार बन्द छ ।
धितोपत्र बजारमा विदेशी लगानीकर्ता भित्राउनुपर्ने कुरा उठिरहेको अवस्थामा लामो समयसम्म बजारको समान्य सिद्धान्त विपरीत बजार बन्द गर्नुले धितोपत्र बोर्डको पूँजी बजारप्रतिको विज्ञतालाई समेत चित्रित्र गरेको अर्का एक लगानीकर्ता बताउँछन्।
“विश्वभरिको पूँजी बजारको अभ्यास विपरित नेपालको पूँजी बजारलाई लैजानमा धितोपत्र बोर्डको असक्षमता स्पष्ट हुन्छ,” ती लगानीकर्ताले भने, “संसारमै नभएको अभ्यास हाम्रो पूँजी बजारमा हुन्छ भने बजारप्रति लगानीकर्ताको विश्वास र लगानी गर्ने आत्मविश्वास कसरी विकास हुन्छ ? यस विषयमा नियामक निकायले ध्यान दिन जरुरी छ।” हाम्रो बजार कुनै एक व्यक्ति वा समूहले चाहँदा बन्द गर्ने र खोल्ने आवस्था रहन्छ भने विदेशी लगानीकर्ताले यस्तो बजारमा लगानी गर्न उपयुक्त नठान्ने उनको तर्क छ ।
सरकारले जेठ २९ गतेदेखि लकडाउनका खुकुलो बनाएसँगै धितोपत्र बजारसँगका सम्बन्धित संस्थाहरुले आफ्ना नियमित काम सुचारु गरिसकेका छन् । लकडाउन खुलेको करिब १५ दिनसम्म आफुहरुले कार्यालय खुलाएपनि कारोबार गर्ने प्ल्याटफर्म नेप्सेले दिनुपर्ने भएकाले काम गर्न चाहेर पनि का मगर्न नसकेको एक धितोपत्र दलालले बताए ।
ती दलालका अनुसार धितोपत्र बोर्डले बजार खोल्नका लागि भन्दै अझै ढिला गर्न अध्ययन समिति गठन गरेको बुझिएको छ । “धितोपत्र बोर्डको अहिलेको गतिविधिले विश्वकै सबैभन्दा अस्तव्यवस्त धितोपत्र बजारको रुपमा नेपालको बजार देखिन्छ ।”
धितोपत्र बजार बन्द गरेको विषयमा आफुले धितोपत्र बोर्डको निर्देशकको पालन गरेको नेप्सेका अधिकारी बताउँछन् । नेप्सेले बजार खुलाउन चाहे पनि नियामक निकायको निर्देशन अनुसार बजार खोल्न नसकिने अवस्था रहेको ती अधिकारीको भनाई छ ।
तर, धितोपत्र बोर्ड भने बजार खुलाएपछि पुन: बन्द नगर्ने गरी खुलाउने तयारीका लागि समिति गठन गरेको दाबी गर्छ । धितोपत्र बोर्डको सञ्चालक समितिमा छलफल हुँदा शेयर बजार खुलेपछि पुनस् बन्द गर्ने अवस्था नरहने गरी बजार खुलाउने तयारी गर्नका लागि बजार खुलाउने सन्दर्भमा अध्ययन गर्न समिति गठन गरेको बार्डका प्रवक्ता निरज गिरीले बताए ।
“आगामी दिनमा कोरोना माहामारी झनै जटील भई लकडाउन वा कफ्र्यू नै लगाएको अवस्थामा पनि बजार बन्द नगर्ने गरी बजार खुलाउनका लागि अध्ययन समिति गठन गरिएको हो,” कुनै पक्षलाई केही जटीलता छ भने पनि त्यसको समाधान गर्नका लागि समेत समय दिईएको हो ।” सो समितिमा धितोपित्र बोर्ड, नेप्से सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर तथा लगानीकर्ता लगायतका बजारसँग सम्बन्धित पक्षका अधिकारीहरु सहभागी रहेको उनले बताए ।
अध्ययन समितिले दिएको प्रतिवेदन अनुसार आगामी दिनमा बजार खुलाइने उनले जानकारी दिए। “अध्ययन समितिले दिएको रिपोर्ट बोर्डको सञ्चालक समितिमा छलफल भएपछि उपयुक्त वातावरण बनाएर बजार खोल्ने निर्णय हुनेछ,” बोर्ड प्रवक्ता गिरीले भने ।










प्रतिक्रिया