जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेप्सेमा सूचीकरण

0
Shares

जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेप्सेमा सोमबार नेप्सेमा सूचीकरण भएको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेप्सेबीच सोमबार उक्त शेयर सूचीकरण सम्झौता भएको हो ।

सूचीकरण सम्झौतापत्रमा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र नेप्सेका सीईओ चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग दोस्रो बजारमा शेयर कारोबारका लागि सूचीकरण सम्झौतासँगै कम्पनीको मंगलबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा निष्काशन गरेको ३० करोड रुपैयाँ बराबरको ३० कित्ता साधारण शेयर र ७० करोड रुपैयाँ बराबरको ७० लाख संस्थापक शेयर समेत कूल १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम सूचीकरण भएको हो ।

असोज ११ गते देखि असोज १४ गतेसम्म सर्वसाधारणबाट आवेदन माग गरेर असोज २० गते, मंगलबार आईपीओ बाँडफाँड गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कूल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा १ लाख २० हजार कित्ता कर्मचारी र १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका इकाईलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।

इन्स्योरेन्सको आर्ईपीओ २ लाख ७३ हजार लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए । उच्च आवेदनका कारण योग्य आवेदकमध्ये बाँकी ५ लाख २१ हजार ५४६ जनाले कम्पनीको आईपीओ पाउन सकेका थिएनन् ।

आईपीओ पाएका शेयर लगानीकर्ताको डिम्याट खातामा यसअघि नै सिडिएस एण्ड क्लियरिङ्ग जीआईसी संकेतमा शेयर जम्मा गरिसकेको छ ।

  • कतिमा खुल्छ पहिलो कारोबार ?

सोमबार सूचीकरण सम्झौतासँगै कम्पनीको मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार सुचारु हुनेछ ।

कम्पनीको शेयर नेप्सेमा शेयर सूचीकरण प्रकृया सम्पन्न भएपछि नेप्सेले कम्पनीको दोस्रो बजारमा शेयर कारोबारका लागि जीआईसी कारोबार संकेत (सिम्बोल) र पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

यसअनुसार नै कम्पनीको शेयर सूचीकरण भएको दोस्रो दिन अर्थात मंगलबारदेखि नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसन (आइतबारदेखि बिहीबारसम्म १०ः३० देखि १०ः४५ बजेसम्म) मा कारोबार भएपछि ११ बजेपछि नियमित कारोबार मार्फत कारोबार खुल्ने गर्दछ ।

कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज प्राप्त गरेको छ । यसअनुसार जनरलको आईपीओ पहिलो कारोबारका लागि अधिकतम ३०५ रुपैयाँमा कारोबार खुल्ने देखिन्छ ।

कम्पनीले प्रकाशन गरेको आह्वानपत्र अनुसार आव २०७५/७६ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ७६ पैसा रहेको छ । नेप्सेले हरेक कम्पनीका पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

सम्बन्धीत समाचारहरु:-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।