
पुनर्बीमा कम्पनीको शेयर बिक्रीमा आइतबार उच्च बिक्रीचाप देखिएको छ । कारोबार समयभन्दा ४६ मिनेट अगावै नेप्से ६ प्रतिशत अर्थात १२३.३४ अंकले घटेर ऋणात्मक सर्किट लागेपछि पुनर्बीमा कम्पनीको शेयरमूल्यमा पनि ऋणात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता १७३ रुपैयाँले घटेर १५६२ रुपैयाँमा झरेको छ।
कम्पनीले यसअघि गत बिहीबारको १ अर्ब ११ करोडको रेकर्ड तोड्दै आइतबार १ अर्ब १६ करोड रुपैयाँको शेयर कारोबारमा आएको छ । गत बिहीबारअघि एउटै कम्पनीको एकैदिनमा १ अर्ब बढीको शेयर कारोबार भएको थिएन । पुनर्बीमा कम्पनीले नै सो रेकर्ड कायम गरेकोमा आइतबार उक्त दिनको रेकर्ड समेत तोडिएर रकम र कित्तामा पनि नयाँ रेकर्ड बनेको हो । आइतबार पुनर्बीमाको ७ लाख १४ हजार ६११ कित्ता कारोबारमा आएको छ । गत बिहीबार ६ लाख ३५ हजार ८४५ कित्ता शेयर खरीद बिक्री भएको थियो ।
बिहीबार १७३५ रुपैयाँमा कारोबार बन्द भएकोमा आइतबार कारोबार सुरु हुँदा नै ३५ रुपैयाँ घटेर १७०० मा कारोबार भएको पुनर्बीमा कम्पनीको शेयर १५६२ मा कारोबार बन्द भएको छ ।
संस्थागत लगानीकर्ता (बैंक तथा वित्तीय संस्था र म्युचुअल फण्ड) हरुले हकप्रद र लाभांशको प्रचार गर्दै ९०० रुपैयाँदेखि शेयर कर्निरिङ्ग हुन थालेको कम्पनीको प्रतिकित्ता ९३६ रुपैयाँ बढेर बिहीबार कारोबारको सुरुवाती समयमा १८३६ रुपैयाँसम्म शेयर कारोबार भएको थियो । ठूला लगानीकर्ताले नै शेयर बिक्री चाप बढाउन थालेपछि आइतबार सर्वसाधारण लगानीकर्ता पनि आफुसँग भएको सबै शेयर बिक्री गरेका छन् ।
सर्वसाधारणले शेयर बिक्री गरेर बाहिरिँदै गर्दा पुनर्बीमा कम्पनीको शेयर सर्वसाधारणको हातबाट फुत्किएर ठूला तथा संस्थागत लगानीकर्ताको हातमा पुगेको छ । यतिका समय शेयर होल्ड गरेका लगानीकर्ताले उच्च गिरावटको समयमा बिक्री गरेर सर्वसाधारणको हातमा रहेको शेयर ठूला खेलाडीको हातमा पुग्नु भने पक्कै राम्रो संकेत होइन ।
उच्च बिन्दुमा पुगेको कम्पनीले तत्काल हकप्रद जारी नगर्ने समाचार सञ्चार माध्यमबाट बाहिरिएपछि कम्पनीको शेयरमूल्यमा गिरावट आउन थालेको थियो। लगातारको ७ दिनको वृद्धिको क्रम रोकिएर दुई दिन कम्पनीको शेयर घटेको छ । हकप्रदको लोभमा शेयर खरीद गरेका सर्वसाधारण लगानीकर्ताहरुले पनि तत्काल हकप्रदको सम्भावना नरहेपछि शेयर बिक्री गरेर बाहिरिएका छन् । जसले अघिल्ला दिनहरुमा न्यून बिक्री चाप आएको कम्पनीको शेयरमा आज उच्च बिक्रीचाप आएपछि खरीद गर्ने लगानीकर्ता नै नेप्सेको मार्केट डेप्थमा खाली देखिएको थियो ।

दिनभर भएको कुल कारोबार रकम ७ अर्ब २० करोड ९१ लाखमध्ये पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब १६ करोड ८ लाख रुपैयाँ अर्थात १६.१० प्रतिशत कारोबार हिस्सा रहेको छ ।
नेप्सेमा सूचीकृत दोस्रोे ठूलो बजार पूँजीकरणको उचाई पुगेको कम्पनीको शेयरमूल्यमाऋणात्मक सर्किट लागेपछि आइतबार पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँबाट एकैदिन १७ अर्ब रुपैयाँले घटेर १ खर्ब ५६ अर्ब २० करोडमा सीमित बनेको छ । पहिलो टेलिकमको १ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । आज नेपाल टेलिकमको पनि एकैदिन १९ अर्ब २० करोडले क्षयिकरण भएको छ ।
उच्च कारोबार दोस्रो कम्पनी नेपाल लाइफको ४४ करोड ९० लाख, नेपाल टेलिकमको ३२ करोड १० लाख रुपैयाँ, अपर तामाकोशीको २९ करोड ५४ लाख, र शिवम् सिमेन्टको कम्पनीको कारोबार रकम २८ करोड ६६ लाखको भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया