चन्द्रागिरी हिल्सको आईपीओ आज बाँडफाँड हुने

0
Shares

चन्द्रागिरी हिल्सले स्थानीय बासिन्दालाई बिक्री गरेको प्राथमिक शेयर आज ( पुस १५ गते बुधबार) बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दिउँसो ३ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा बाँडफाँड हुने भएको हो ।

कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर जारी गरेको थियो ।

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रगिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गाविस वडा नम्बर ३, ४, ५, ६, ७ र ८) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्नेले मात्र आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंसिर १७ गतेदेखि निष्काशन खुला भएको कम्पनीको आईपीओमा बुधबार बेलुका ८ बजेसम्ममा ४ हजार ८१४ वटा आवेदबाट १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको १६ लाख ८५ हजार ५३० कित्ता शेयरको माग भएको छ ।

जसमध्ये आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ३ हजार ६९७ वटा आवेदन मार्फत १२ लाख ७९ हजार ६२० कित्ता र फारम मार्फत १ हजार ११७ आवेदन मार्फत ४ लाख ५ हजार ९१० कित्ताको माग परेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गरेको हो । यस आधारमा हेर्दा कम्पनीको शेयरमा मागको तुलनामा ५.४९ गुणा बढीको माग परेको छ ।

  • सर्वसाधारणमा दोश्रो चरणमा खुल्ने

कम्पनीले पहिलो चरणको शेयर बाँडफाँडपछि अब सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ । दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।

कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित उद्यमी चन्द्र ढकालको प्रमुख लगानी रहेको कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकिकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ पुस २०७७, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।