
जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल) ११ अर्ब रुपैयाँको हकप्रद शेयर बिक्री गर्नका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
कम्पनीले जेठ २८ गते शुक्रबार बुकक्लोज तोकेको छ । यसअनुसार जेठ २७ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र कम्पनीले जारी गर्ने हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।
कम्पनीले जेठ ९ गते आइतबार नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हकप्रद निष्काशनको मिति तोकेको हो । कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

हकप्रद शेयर निष्काशन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । हाल ११ अर्ब रुपैयाँ पूँजी रहेको कम्पनीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब रूपैयाँ पुग्नेछ ।
कम्पनीमा सरकारको ८० प्रतिशत र अन्यको २० प्रतिशत लगानी छ। जलविद्युतको क्षेत्रमा लगानी गर्ने उदेश्यले सरकारले कम्पनीको स्थापना गरेको हो ।
कम्पनीको यसअघि नै हकप्रद जारी गर्न निवेदन दिएपनि लामो समयसम्म आवश्यक विवरण उपलब्ध नगराएको भन्दै सेबोनले हकप्रद पाइपलाइनबाट हटाएको थियो । कम्पनी संस्थापक शेयरधनीहरुबाट हकप्रदको कल इन एभडान्स्ड रकम उपलब्ध नहुँदा कम्पनीले पुनः हकप्रद शेयर जारी गर्ने अनुमति मागेको थियो ।
एचआइडीसीएलले हकप्रद शेयर जारी गर्न क्रेडिट रेटिङ कम्पनी केयर नेपालबाट रेटिङ सम्पन्न गरिसकेको छ । केयर नेपालले एचआइडीसीएलको हकप्रदलाई ‘केयर एनपी ए माइनस’ रेटिङ दिएको छ । केयर एनपी ए माइनस रेटिङ सुरक्षित भएको केयर नेपालले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया