आदर्श लघुवित्तले आईपीओ जारी गर्ने, बि.ओ.के. क्यापिटल बिक्री प्रबन्धक चयन

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं
७श्रावण, २०७८, बिहीबार / Jul 22, 2021 12:39:pm


आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्रीमा ल्याउने भएको हो । गत आवको तेस्रो त्रैमाससम्मा लघुवित्तले १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी १५.०६ रुपैयाँ कायम भएको छ । १ करोड ४० लाख* रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको खराब कर्जा अनुपात १.२७ प्रतिशत रहेको छ ।

आईपिओ निष्काशनको लागि लघुवित्त कम्पनीले बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सम्झौता अनुसार शेयर निष्काशन भईसकेपछि शेयर रजिष्ट्रारको कार्य पनि बि.ओ.के. क्यापिटलले नै गर्ने छ । 

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।

लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरे बमोजिम प्रकृया अगाडि बढाएको हो । यससँगै अब कम्पनीले क्रेडिट रेटिङ्ग कम्पनी मार्फत साख मुल्याङ्कन र पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग आईपीओ बिक्रीका लागि अनुमति माग गर्नेछ । बोर्डबाट अनुमति पाएपछि मात्र लघुवित्तको शेयर बिक्रीमा आउनेछ ।

राष्ट्र बैंकबाट अनुमति लिने बैंक तथा वित्तीय संस्थाले आफ्नो जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

बि.ओ.के. क्यापिटल बैंक अफ काठमाण्डूको सहायक कम्पनी हो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments