प्रक्रिया नपुर्‍याई सर्वोत्तमको फाइल सेबोन सञ्चालक समितिमा, अध्यक्षको स्वार्थ थिएन भने कसरी आयो बाधा अड्काउ फुकाउने सम्मको सोच ?


नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुङ्गानाले प्रकृया मिचेर जोड बलका साथ सर्वोत्तम सिमेन्टको सार्वजनिक निष्काशनको फाइल सञ्चालक समितिमा लगेको खुलेको छ । प्रक्रिया नपुगेको उक्त कम्पनीको फाइललाई बोर्ड अध्यक्ष ढुङ्गानाले व्यक्तिगत स्वार्थका कारण नै सञ्चालक समितिमा जबरस्ती प्रवेश गराएका हुन् ।

सर्वोत्तमले प्रकृया नै नपुर्याइ सिधै बोर्डको माथिल्लो तहबाट सञ्चालक समितिमा बुक विल्डिङबाट शेयर निष्काशनको अनुमति लिन खाजेको हो । बोर्डका अध्यक्षको संलग्नतामा सर्वोत्तमले चालेको यो प्रयासलाई धितोपत्र बोर्डका अन्य सञ्चालकले नियम विपरित काम नगर्ने भनेपछि थप प्रकृया स्थगन भएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार बोर्डका अध्यक्ष ढुंगानाले नै सञ्चालकहरुलाई सर्वोत्तमलाई शेयर निष्काशन अनुमति दिँदा बजारको हीत हुने भन्दै सम्झाउने प्रयास गरेका थिए । तर धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा भएको व्यवस्थाको बर्खिलाप हुने भएपछि बोर्डका अन्य सञ्चालकले अध्यक्ष ढुङ्गानालाई सहमति नदिएका हुन् । ढुङ्गानाले सर्वोत्तमको एजेण्डालाई २०७७ चैत र २०७८ बैशाखमा गरी ३ पटक सम्म सञ्चालक समितिको बैठकमा प्रस्तावका रुपमा पेश गरेका थिए ।

“बोर्डका अध्यक्षले बैशाखदेखि निरन्तर ३ पटकसम्म सर्वोत्तमको फाइलको विषयलाई मुख्य एजेण्डा बनाएका थिए,” स्रोतले भन्यो, “धितोपत्र दर्ता तथा निष्काशन नियमावलीका केही व्यवस्था बाधक भए त्यसलाई बाधा अड्चन फुकाउ गरेर भएपनि अनुमति दिने कसरतमा बोर्डका अध्यक्ष लागेका रहेछन् ।”

तर बाधा अड्चन फुकाउ गरेर जान बोर्डका उच्चपदस्थ कर्मचारीहरुले नमानेपछि सहजीकरण गरिदिने व्यहोरा सहितको प्रस्ताव फेरि सेबोन सञ्चालक समितिमा पुगेको स्रोतको भनाई छ । स्रोतका अनुसार सर्वोत्तमको प्रस्ताव पुगेपछि बोर्डका अध्यक्ष ढुङ्गानाले अर्थ मन्त्रालयको पनि चासो रहेको भन्दै सेबोनका उच्च पदस्थ कर्मचारी तथा सञ्चालकहरुलाई सहमतिमा ल्याउने प्रयास गरेका थिए ।

सर्वोत्तमको अनुकुलतामा बोर्डका अध्यक्ष ढुङ्गानाले आफ्नो पदीय आचरणको दुरुपयोग गरेको आरोप लागेपछि उनले उनले सर्वोत्तम सिमेन्टसको कुनै पनि कागजात बोर्डमा नआएको झुठो प्रष्टीकरण दिँदै हिँडेका छन् । सोही विषयमा व्यवस्थापिका संसदको अर्थ समितिले बोलाएको छलफलमा समेत सेबोन अध्यक्ष ढुङ्गानाले सर्वोत्तमको कुनै पनि फाइल सेबोनमा नआएको झुठो लिखित स्पष्टीकरण पेश गरेका थिए ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार प्राइभेट कम्पनी पब्लिकमा रुपान्तरण भएको १ वर्ष पछि मात्र सार्वजनिक निष्काशन गर्न सक्छ । त्यसैगरि यस्ता कम्पनीले एक वर्षको लेखापरीक्षण प्रतिवेदन र साधारण सभाको निर्णय पनि धितोपत्र बोर्डमा बुझाउनुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

तर सवोत्तम सिमेन्टले भने सेबोनका अध्यक्षलाई नै प्रलोभनमा पारेर प्रकृया मिच्दै नीतिगत व्यवस्थालाई नै उल्ट्याउन खाजेको यससँग सम्बन्धित कागजातले प्रष्ट पार्छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ प्रकृया सुरु नै नगरी नियामक निकाय धितोपत्र बोर्डमा अनुमतिका लागि छोटो बाटो अपनाएको देखिन्छ । निष्काशन तथा बिक्री प्रबन्धक मार्फत गराइनुपर्ने काम पनि सर्वोत्तम आफैंले गरेको देखिन्छ ।

सामान्यतया बुक विल्डिङ विधिबाट मूल्य निर्धारण गरी साधारण शेयर निष्काशन गर्दा शेयर निष्काशन तथा बिक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्ता मार्फत आशय मूल्य निर्धारण गरेपछि मात्र धितोपत्र बोर्डमा प्रकृयाका लागि जानुपर्ने हुन्छ । तर सर्वोत्तमको सन्दर्भमा भने सिधै धितोपत्र बोर्डका अध्यक्षको पहलमा छोटो बाटो अपनाएको कागजातले पुष्टि गर्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।