आरबिबिको नाफा २६.७० प्रतिशत बढ्यो, समीक्षा अवधिमा २४ अर्बले घट्यो निक्षेप

0
Shares

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (RBB) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा १ अर्ब ५ करोड ६ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८२ करोड ९२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको समीक्षा अवधिमा बैंकको निक्षेप २४ अर्बले घटेको छ । बैंकको कर्जा ६ प्रतिशतले बढेपछि निक्षेप घटेपनि खुद ब्याज आम्दानी बढ्दा नाफा भने सुधारिएको हो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ४.४२ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४१.२६ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस ३६.८४ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ५० करोड ७ लाख ७० हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक १९.६८ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ । तर बैंकमा १ प्रतिशतभन्दा कम शेयर मात्र सर्वसाधारणमा रहेको छ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले २ खर्ब ४० अर्ब ८७ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ९० अर्ब २२ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब २८ करोड ५५ लाख ९९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १० अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६६ करोड ८० लाख र शेयरधनी कोषमा ५ अर्ब ३७ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ३.६४, शेयरधनी कोष १०.२६, कर्जा लगानी ६.५३, खुद ब्याज आम्दानी २५ र सञ्चालन नाफा ९.३८ प्रतिशतले बढेको छ । बैंकिङ्ग प्रणालीमा तरलता अभाका कारण ब्याजदर प्रतिस्पर्धाका कारण बैंकको निक्षेप संकलन एक वर्ष अवधिमा ८.७९ प्रतिशतले घटेको छ । सरकारी बैंकले न्यून ब्याजदर दिने भएकाले निजी बैंकतिर बैंकको निक्षेप सिफ्ट भएको हो ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ३.०१ प्रतिशत, कोषको लागत ३.६०, आधार ब्याजदर ५.६३, स्पेडदर ३.९९, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ ३०६.६६ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।