
आज अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली युवाहरुले विगत सात वर्षदेखि स्वतःस्फूर्तरुपमा अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएका छन् ।
नेपाली टोपी प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेले संसारभर फैलिएको कोभिड महामारी र यसले मानव स्वास्थ्यमा पार्न नसक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस वर्ष प्रतिष्ठानका तर्फबाट भौतिकरुपमा मानिसहरु भेला भई कुनैपनि औपचारिक कार्यक्रमको आयोजना नगरिएको बताए ।
नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवं सम्पूर्ण नेपालीभाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको उनको भनाई छ ।
सामाजिक सञ्जालबाट सुरु उक्त अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन प्रतिष्ठानको गठन भएको हो । नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको पहलमा हालसम्म विश्वका ३९ देशमा प्रतिष्ठानको शाखा गठन भइसकेका छ ।
प्रतिष्ठानले संसारभर विभिन्न मुलुकमा बसोबास गर्ने सबै नेपाली दाजुभाई दिदिबहिनीहरुमा यस पटकको टोपी दिवस सामाजिक दूरी कायम गरी, स्वास्थ्य सम्बन्धि सबै नियमहरु पालना गरी सम्बन्धित देशका नियम परिधिभित्र रही मनाउन अनुरोध समेत गरेको छ ।
- ढाका टोपी बारे यस्तो छ इतिहास
नेवार भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हःपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।
त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।
ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्र हो।
नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । संस्कृतविद अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएकी थिइन् ।
नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया