नेप्से सूचक १८ अंकले बढ्दा बजार पूँजीकरण ३१ खर्ब

0
Shares

धितोपत्र बजार परिसूचकमा सुधार आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८ अंकले बढ्दा धितोपत्र बजारको आकार पनि विस्तार भई ३१ खर्ब पुगेको हो ।

पछिल्लो समयमा शेयर बजारले हरेक दिन नयाँ उचाइ तय गर्दै आएको छ । बुधबार कारोबार सुरु हँदा देखि निरन्तर सुधारको गतिमा रहेको नेप्से सूचक बन्द हुँदा १८.८१ अंकले बढेर २२८६.५४ अंकमा पुगेको छ । बुधबार कारोबार बन्द भएको नेप्सेको बिन्दु हालसम्मकै उच्च हो ।

बुधबारको नेप्सेको कुल बजार पूँजीकरण देशको कुल ग्राहस्थ उत्पादनको तुलनामा ६ खर्ब ८८ अर्ब रुपैयाँले मात्र थोरै हो । कोरोनाका कारण लगानीका एक मात्र क्षेत्रको रुपमा शेयर बजार देखिएको छ ।

कोरोना भाइरसको महामारीसँगै सुधारको गतिमा देखिएको शेयर बजार हालसम्मकै उच्च अंकमा पुगेको छ । वित्तीय क्षेत्रको सस्तो ब्याजदर र उच्च तरलताका कारण शेयर बजारमा लगानी बढेको हो । शेयर बजारमा सुधार आएपछि नयाँ लगानीकर्ता पनि बजारमा प्रवेश गर्ने क्रम जारी रहेको छ । धितोपत्र बजारको विस्तार तथा जनचेतनाले पछिल्लो समयमा साधारण शेयर लगानी गर्ने लगानीकर्ताको संख्या हालसम्मकै धेरै साढे १२ लाखसम्म पुगेको अवस्था छ । यसले बजार धितोपत्र बजार प्रति लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक रहेको देखिन्छ ।

गत आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि २.२७ प्रतिशतले हुने अनुमान गरिएसँगै अर्थतन्त्रको आकार पनि ३७ खर्ब ६७ अर्बको पुग्ने अनुमान तथ्याङ्क विभागको रहेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्तताका कारण आर्थिक वृद्धि न्यून हुने अनुमान गरिएको हो । आर्थिक गतिविधिमा आएको सुस्तताले अर्थतन्त्रको वृद्धिदरमा कमी आएको भएपनि शेयर बजारलाई भने खासै असर गरेन ।

हाल धितोपत्र बजारको आकार ३० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । बुधबारको धितोपत्र बजारको कुल बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ८१.७३ प्रतिशत हो । नेप्से परिसूुचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भुमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो । धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो ।

नेप्सेमा सूचीकृत शेयरहरुको कूलबजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयरमूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्य बढेको छ । नेप्सेका कारोबार भएका समूहगत परिसूचक मध्ये ब्यापार ९.०५, विकास बैंक ३०.७९, जलविद्युत ३०.२, वित्त ४५.०८, निर्जीवन बीमा १११.१५, उत्पादन मूलक २४२.५२, अन्य १२.०९, लघुवित्त ९६.४९, जीवन बीमा १६९.७७ र सामुहिक लगानी कोष ०.०७ अंकले बढेको छ । तर, बैंकिङ र होटल समुह ५.३९ अंकले घटेका छन् ।

बुधबार कर्पोरेट डेभलपमेन्ट, आरम्भ चौतारी लघसवित्त विकास बैंक, फस्ट माइक्रोफाइनान्स, इन्फिनिटि लघुवित्त वित्तीय संस्था, नारायणी विकास बैंक, गोर्खाज फाइनान्स लगायत कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।  मल्टिपपर्स फाइनान्स कम्पनी, महिला सहयात्रा लघुवित्त, र नेपाल एसबिआई बैंकको शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ ।

बुधबार नेप्सेको कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा २०७ कम्पनीको ५० हजार ९५० कारोबारबाट ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ बराबरको एक करोड ३२ लाख ८९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा धेरै हो । मंगलबार नेप्सेमा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर खरीद बिक्री भएको थियो ।

आज नेपाल टेलिकमको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । पुनर्बीमा कम्पनी, अपर तामाकोशी, शिवम् सिमेन्टस्, एनआईसी एशिया बैंक, नेपाल लाइफ, फस्ट माइक्रोफाइनान्स, नेशनल लाइफ, प्राइम कमर्सियल बैंक, नेको इन्स्योरेन्सको उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-01-13 15:00:00
NTC 265,524,940.00 1,263.00
NRIC 207,255,101.00 1,551.00
UPPER 184,985,795.00 495.00
SHIVM 163,613,761.00 1,660.00
NICA 159,386,980.00 912.00
NLIC 149,679,822.00 2,436.00
FMDBL 148,151,490.00 695.00
NLICL 142,806,050.00 1,170.00
PCBL 137,807,087.00 442.00
NIL 134,698,605.00 1,280.00

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।