पोखरा फाइनान्स लिमिटेड (PFL) को २४ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर अनुमोदन गरेको छ ।
बुधबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७६।७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रति शेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ९६.३१ करोड पुगेको छ । साथै सभाले आ.व. २०७७।७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले जानकारी दिए ।
पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिदैं ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया