सिटी एक्सप्रेसले निकाल्यो अन्तिम वित्तीय विवरण, कस्तो छ प्रगति ?

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुने अन्तिम तयारीमा रहेको सिटी एक्सप्रेस फाइनान्स (CEFL) ले आफ्नो अन्तिम वित्तीय विवरण सार्वजनिक गरेको छ ।

फाइनान्सले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फाइनान्सले ३७ लाख ९० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको यसै अवधिमा पनि ५ लाख ३२ हजार रुपैयाँले नोक्सानीमा रहेको थियो ।

खुद नाफा ऋणात्मक बनेसँगै चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको सिटी एक्सप्रेस फाइनान्सको प्रतिशेयर आम्दानी ०.९५ रुपैयाँले ऋणात्मक बनेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ ६५.७५ रुपैयाँ रहेको छ ।

फाइनान्सले यस अवधिमा १४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट फाइनान्सले ४५ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको यसै अवधिमा १ करोड ११ लाख खुद ब्याज आम्दानी कमाएको कम्पनी विलय हुने प्रकृयामा रहेकाले कर्जा लगानी घट्दा खुद ब्याज आम्दानीमा आधाभन्दा बढी गिरावट देखिएको हो ।

फाइनान्सको जगेडा कोष ११ करोड ५ लाख ९१ हजार सञ्चित छ भने शेयरधनी कोष २५ करोड २३ लाख ८० हजार रुपैयाँ ऋणात्मक छ । फाइनान्सको वितरण योग्य नाफा भने ३७ लाख २२ हजार रुपैयाँले ऋणात्मक छ ।

माघ ११ गते आइतबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुने फाइनान्सको यो अन्तिम वित्तीय विवरण हो । बैंकमा विलय भएसँगै फाइनान्सको अस्तित्व समाप्त हुने भएको फाइनान्सको जायजेथा सबै बैंकले नै सकार्ने हुँदा फाइनान्सको सबै कारोबार बैंकको नै हुनेछन् भने शेयर स्वाप रेसियो अनुसार फाइनान्सका शेयरधनी पनि बैंकको शेयरधनी बन्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार  ०९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।