कर्जा नोक्सानी व्यवस्थाबाट १६ करोड फिर्ता हुँदा बङ्गलादेश बैंकको खुद नाफा बढ्यो

0
Shares

नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३ करोड ३५ लाख रुपैयाँले खुद नाफा वृद्धि गर्दै ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

ब्याज आम्दानी, शुल्क तथा कमिशन आय घटेको बैंकले यस अवधिमा खुद ब्यापार आय (नेट ट्रेडिङ इन्कम) र अन्य सञ्चालन आम्दानी भने वृद्धि भएको छ ।

बैंकिङ्ग व्यवसायबाट हुने ब्याज आम्दानी घटेसँगै बैंकको खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा १० करोड ८५ लाख रुपैयाँले घटेको छ ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि बैंकले यसअघि कर्जा नोक्सानी व्यवस्था वापतको १६ करोड ११ लाख ३६ हजार रुपैयाँ रकम फिर्ता (इन्पेरमेन्ट चार्ज रिभर्स) हुँदा बैंककको खुद नाफा करिब साढे १३ करोडले वृद्धि भएको हो ।

मंगलबार समर्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ रहेको छ । चालु आवको ६ महिनामा आर्जन गरेको यो नाफाका आधारमा बैंकले शेयरधनीलाई १०.८५ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ ।

चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ३.१४ रुपैयाँ बढेर २२.१६ रुपैयाँ पुगेको छ । जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ सञ्चित राखेको बैंकको प्रतिशेयर नेटवर्थ १६५.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.७३ गुणा छ पुस मसान्तसम्ममा बैंकको शेयरधनी कोषमा १ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ ।

वित्तीय विवरण अनुसार बैंकले पुस मसान्तसम्ममा बैंकले ७० अर्ब ८ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब २४ करोड ६६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख ४१ हजार रहेको बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ८ प्रतिशत घटेको हो ।

कर्जा नोक्सानी व्यवस्थाबाट १६ करोड ११ लाख फिर्ता हुँदा बैंकको सञ्चालन नाफा १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १ अर्ब १२ करोड ६२ लाख ९४ हजार रुपैयाँ रहेको सञ्चालन नाफा १८.८९ प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा बैंकको नेट ट्रेडिङ इन्कम १० करोड ५९ लाखबाट ५ करोड ४८ लाख बढेर १६ करोड ७ लाख र अन्य सञ्चालन आम्दानी २ करोड २४ लाखबाट ९ करोड ४७ लाख बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यसले बैंकको नाफा बढाउन महत्वपूर्ण भुमिका खेलेको छ । बैंकको कोर बैंकिङ्ग आय घटेपनि गैर बैंकिङ्ग आयमा भएको वृद्धि र पुरानो नोक्सानी व्यवस्थाको फिर्ता रकमबाट खुद नाफा बढेको हो ।

पुस मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात २.३७ प्रतिशत, पूँजीकोष अनुपात १४.१७ प्रतिशत, आधार दर ८ प्रतिशत, र स्प्रेड दर ४.१९ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार  ०९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।