नेशनल लाईफ इन्स्योरेन्सको १० प्रतिशत बोनस पारित

0
Shares

नेशनल लाईफ इन्स्योरेन्सको बिहीबार (माघ १५ गते) सम्पन्न ३२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले आ.व. २०७५/०७६ बाट प्रस्ताावित चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस पारित भएसँगै इन्स्योरेन्सको कूल चुक्ता पूँजी ३ अर्ब ३९ करोड नाघेको छ ।

सभामा अध्यक्ष सिंहले इन्स्योरेन्सको सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदैआ.व. २०७५।७६ मा कम्पनीले ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताइन् । उनले कम्पनीको आ.व.२०७५/०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक किन्दुले बोनस दर बढाइएको र यसबाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिन् ।

यस्तै यस अवधिमा कम्पनीले कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई ८ अर्ब ५ करोड ५ लाख पुगेको छ । आ.व.२०७५।७६ को अन्त्यसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले वृद्धि भई २६ अर्ब ८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई २०७६ असार मसान्त सम्ममा २६ अर्ब ९२ करोड पुगेको अध्यक्षले जानकारी दिइन् । कम्पनीले सो आ.व.मा २ अर्ब ६९ करोड कूल दाबी भुक्तानी गरेको छ ।

अध्यक्ष सिंहले लगानी विविधिकरण गरी लामो अवधिको लगानी वृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हाँसिल भएको, परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसवाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने अध्यक्षले बताइन् ।

आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले ब्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर वृद्धिमा विशेष जोड दिएको सभामा अवगत गराउनु भयो । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएकोे र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याएको अध्यक्षले सभामा उल्लेख गरिन् ।

आ.व.२०७५/०७६ मा २५ वटा नयाँ शाखा खोल्न स्वीकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०७७, बिहिबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।