तीन सातादेखि अध्यक्ष विहीन बीमा समितिले कहिले पाउला नयाँ अध्यक्ष ?

0
Shares

बीमा व्यवसायको नियमनकारी निकाय बीमा समिति तीन सातादेखि अध्यक्ष विहीन छ । समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाँईको चार वर्षे कार्यकाल पुस २३ गते बिहीबारदेखि सकिएसँगै समिति नेतृत्व विहीन भएको हो ।

कानूनी व्यवस्था अनुसार समितिको अध्यक्ष नै प्रशासकीय अधिकारी हुन्छन् । यसरी मूख्य प्रशासकीय अधिकारी नहुँदा बीमा कम्पनीहरुको काम मात्रै होईन समिति कै कतिपय काममा समेत रोकिएको छ । तीन सातादेखि अध्यक्ष नियुक्त हुन नसक्दा समितिले नयाँ अध्यक्ष कहिले पाउला भन्ने प्रश्न उठ्न थालेका छन् । नयाँ अध्यक्ष कस्तो व्यक्ति हुनुपर्छ भन्ने प्रश्न समेत चर्चामा आएका छन् ।

बीमा ऐन २०४९ को दफा ३ अनुसार नेपाल सरकारले नियुक्त गरेको वा तोकेको व्यक्ति अध्यक्ष हुने प्रावधान छ । तर बीमा समिति अध्यक्ष विहीन भएको तीन साता भईसक्दा समेत सरकारले नयाँ अध्यक्ष चयन गर्न सकेको छैन् ।

नियमनकारी निकायले लामो समयसम्म अध्यक्ष नपाउँदा आफ्ना धेरै काम रोकिएर बसेका बीमा कम्पनीका अधिकारी बताउँछन् । नयाँ पोलिसी स्वीकृतको कामदेखि वित्तीय विवरण स्वीकृतको काम रोकिएको उनीहरुको भनाइ छ ।

जीवन बीमक संघका अध्यक्ष निर्मल काजीले समितिमा अध्यक्ष नहुँदा नयाँ पोलिसी स्वीकृत लगायतका काम रोकिएर बस्ने बताए । “समयमा नै अध्यक्ष नियुक्ति नहुँदा बीमा कम्पनीहरुका वित्तीय विवरण र नयाँ पोलिसी स्वीकृतका काम रोकिन्छन्,” उनले भने,“तीन सातादेखि अध्यक्षविहीन भएको नियमनकारी निकाय बीमा समितिमा चाडै अध्यक्ष नियुक्त हुनुपर्छ ।”

अध्यक्ष नहुँदा समितिले नियमित काम मात्रै गरिरहेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल बताउँछन् । “नीतिगत काम र एक्चुअरी भ्यालुएसनका काम रोकिएर बसेका छन्,” उनले भने,“बाँकी दैनिक प्रशासनिक काम चलिरहेका छन् ।” अध्यक्ष चयन हुन ढिलाई हुँदा समितिमा बीमा कम्पनी विरुद्ध दायर भएका उजुरी माथिको सुनुवाई समेत स्थगित भएको उनले बताए ।

बीमा ऐन २०४९ को दफा ६ मा बीमा समितिको अध्यक्षको सेवा, शर्त र सुविधा सम्बन्धी व्यवस्था गरिएको छ  । बीमा ऐनमा बीमा सम्बन्धी जानकार व्यक्तिलाई नै अध्यक्षमा नियुक्त गर्नुपर्ने व्यवस्था रहेपनि हालसम्म राजनीतिक शक्तिका आधारमा नै अध्यक्ष नियुक्ति हुँदै आएका छन्  । तर बीमा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले बीमा क्षेत्रमा राम्रो ज्ञान र दक्षता हासिल गरेको व्यक्तिलाई नै समिति अध्यक्ष नियुक्ती गर्न अर्थ मन्त्रालयलाई सुझाव दिइरहेका छन् ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले समेत बीमा क्षेत्रमा राम्रो ज्ञान हासिल गरेको व्यक्ति बीमा समितिको अध्यक्षमा आउनु पर्ने कुरामा जोड दिँदै आएका छन् । जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ समग्र बीमा बजारलाई बुझेको र बीमा बजारलाई नियमन गर्न सक्ने व्यक्ति बीमा समितिको अध्यक्ष बन्नुपर्ने बताउँछन् । बीमा सम्बन्धी दक्षता हासिल गरेको र बीमा सम्बन्धी ज्ञान भएको व्यक्ति नियामक निकायमा आउन जरुर रहेको उनले बताए ।

को-को छन् दौडमा ?

नयाँ अध्यक्षका लागि अर्थ मन्त्रालयमा झण्डै दर्जन बढी आकांक्षीको दौडधुप चलिरहेको छ ।

बीमा समितिको नयाँ अध्यक्ष बन्नका लागि राष्ट्र बैंकका डेपुटी गर्भनरदेखि बीमा विज्ञसम्म दौडधुपमा छन् । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीदेखि नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलसम्म अध्यक्षको आकांक्षी बन्दै आफ्नो पक्षमा लबिङ्ग गरिहरेका छन् ।

त्यस्तै, राष्ट्र बैंकबाट अवकाश प्राप्त कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, चार्टर्ड एकाउन्टेट टंक पनेरु, पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं पनि अध्यक्षको दौडधुपमा लागि परेको चर्चा छ । त्यस्तै, समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, समिति सञ्चालक समिति सदस्य कपिलदेव सुवेदी र चापागाँई समेत अध्यक्षको दौडधुपमा लागि परेका छन् । त्यस्तै, बीमा विज्ञ डा. रविन्द्र घिमिरे पनि समितिको नयाँ अध्यक्षका लागि प्रतिस्पर्धामा छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०७७, बिहिबार  १९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।