आईपीओमा उच्च आकर्षण तर ऋणपत्र बिक्रीमा भने कठिनाई, कामनाको पनि लम्बियो अवधि

0
Shares

पछिल्लो पटक शेयर बजारमा आएको उच्च सुधार र प्रविधिको विकासले प्राथमिक बजारमा लगानीकर्ताहरुको उच्च आकर्षण कायमै रहेपनि ऋणपत्रको बजारले विस्वास जित्न सकेको छैन् ।

पछिल्लो पटक निष्काशन भएका आईपीओहरुमा उच्च आवेदन परिरहेको बेला सोही समयमा निष्काशन भएका ऋणपत्रहरु भने छोटो अवधिमा बिक्री हुन सकिरहेका छैनन् ।

पछिल्लो पटक आईपीओ जारी गरेका प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरीहिल्स, नेपाल इन्फ्रास्टक्चर बैंक र शेयर निष्काशन भइरहेको ग्रिनलाइफ हाइड्रोमा लगानीकर्ताहरुको उच्च आवेदन परेको देखिन्छ । तर, यहि समयमा ऋणपत्र जारी गरेका नेपाल इन्भेष्टमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र कामना विकास बैंकको ऋणपत्र भने छोटो अवधिभित्र बिक्री हुन सकेन् ।

दोस्रो बजारमा ऋणपत्रहरुको सहज कारोबार नहुने भएकाले पनि यसप्रति लगानीकर्ताको आकर्षण नदेखिएको जानकारहरु बाताउँछन् । साथै बैंकहरुले पहिला घोषणा गरेको भन्दा ऋणपत्रको ब्याजदर घटाएर निष्काशन गरेकाले पनि ऋणपत्र बिक्रीमा कठिनाई भएको हुनसक्ने उनीहरुको बुझाई छ ।

यसै क्रममा कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गते बिहीबारदेखि ऋणपत्र निष्काशन गरेको ऋणपत्रमा आवेदन गर्ने समय समेत लम्बिएको छ । उक्त ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपटि ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ निष्काशन गरेको हो । निष्काशित ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता बिक्री गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

इच्छुक लगानीकर्ताले मेरो शेयरको एप तथा वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू र एनआईबिएल एस क्यापिटल लिमिटेड तथा कामना सेवा विकास बैंक लिमिटेड बाट आवेदन दिन सक्नेछन् ।

यसअघि ऋणपत्र निष्कासन गर्ने मञ्जुश्री फाइनान्स र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि छोटो अवधिमा ऋणपत्र बिक्री हुन सकेको थिएन । मञ्जुश्री फाइनान्सले ५० करोड रूपैयाँको ऋणपत्र जारी गरेको थियो भने इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री निष्काशन गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ माघ २०७७, सोमबार  ०८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।