चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस महिनासम्ममा मुलुकमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११.१ प्रतिशतले बढी हो ।
गत वर्षको तुलनामा भन्दा चालु आवको पुसमसान्तमा रेमिटयान्स आप्रवाहको दर दोहोरो अंकले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस महिनामा मात्रै ७८ करोड ५० लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ भित्रिएको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई ५ खर्ब ५९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया