भुक्तानी सेवा प्रदायक ‘पे वेल नेपाल’ को डेपुटी गर्भनर सिवाकोटीद्धारा सुरुवात

0
Shares

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले मंगलबार भुक्तानी सेवा प्रदायक पे वेल नेपालको औपचारिक सुरुवात गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच डेपुटी गभर्नर सिवाकोटीले उक्त डिजिटल वालेट सेवाको सुरुवात गरेका हुन् ।

‘पैसा पठाउन, पाउन र तिर्न पे वेल नेपाल’ भन्ने मुल नाराका साथ स्थापना भएको कम्पनीले अन्तराष्ट्रिय स्तरको अत्याध्निक तथा नविनतम प्रविधिको प्रयोग गरी सेवा प्रदान गर्ने जनाएको छ । कम्पनीको भुक्तानी सेवा प्रणाली साइबर सुरक्षाको दृष्टिकोणले समेत सुरक्षित र विश्वसनीय रहेको जनाइएको छ ।

पे वेल नेपालबाट विद्युत, खानेपानी, हस्पिटल, होटल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, टेलिफोन, इन्टरनेट र टेलिभिजनको रिचार्ज गर्न, विद्यालय, कलेजको फि तिर्न, हवाइ टिकट र अन्य युटिलिटी सर्भिसेजहरुको भुक्तानी गर्न सकिनेछ ।

यसैगरी सरकारी राजश्व भुक्तानी, शेयर खरीद बिक्रीको भुक्तानी, तथा सहज सरल र सुरक्षित तरिकाले रकम समेत पठान सकिने जनाइएको छ । यस्तो इन्टरनेटको पहुँच नपुगको स्थानमा समेत अफलाइन प्रविधि मार्फत भुक्तानी सेवा उपलब्ध गराउने तयारी कम्पनीको छ ।

ग्राहकहरुले पे वेल नेपालको एप एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

वित्तीय, शैक्षिक, धितोपत्र सहकारी, स्वास्थ्य, पर्यटन, जस्ता व्यवसायीक क्षेत्रमा लामो अनुभव रहेका व्यक्तिको अग्रसरतामा २०७५ बैशाखमा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको कम्पनीले नेपाल राष्ट्र बैंकबाट २०७७ असोज ११ गते भुक्तानी सेवा प्रदायकको इजाजत पाएको थियो ।

  • आईपीओ जारी गर्ने लक्ष्य

हाल एक करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले व्यापक रुपमा आफ्नो सेवा विस्तार गर्न थप पूँजी आवश्यकता महसुस गरी १० करोड रुपैयाँमा पूँजी वृद्धि गर्न नेपाल राष्ट्र बैंकमा प्रस्ताव गरेको छ ।

राष्ट्र बैंकबाट पूँजीवृद्धिको अनुमति सँगैसँगै कम्पनीको सेवा विस्तार र पूँजी वृद्धिसँगै पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरी सर्वसाधारणमा शेयर जारी समेत कम्पनीको लक्ष्य रहेको जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।