जीविकोपार्जनको आधार बन्दै शेयर बजार, विद्यार्थी देखि वृद्धासम्मको चहलपहल

0
Shares

धितोपत्रको दोस्रो बजारमा आएको उत्साहजनक सुधारले शेयर बजार चर्चाको शिखरमा छ । दोस्रो बजारमा मात्र नभई प्राथमिक बजारमा पनि लगानीकर्ताको उच्च सहभागिता बढ्न थालेपछि शेयर बजार चिया गफको विषय समेत बनेको छ।

कोरोना भाइरसका कारण अझैपनि कतिपय कार्यालयमा सिमित कर्मचारी उपस्थिती भएर सेवा दिइरहेको अवस्था छ । तर, शेयर बजारसंग जोडिएका मर्चेन्ट बैंकर, निक्षेप सदस्य तथा धितोपत्र दलाल कम्पनीमा देखिएको भिडले भने कोरोना समेत बिर्साएको छ ।

अहिले धितोपत्रसंग सम्बन्धी संस्थाहरुमा कोही शेयर बिक्री गर्न, कोही खरिद गर्न त कोही साधारण शेयरको आवेदन दिनका लागि भन्दै डिम्याट खाता खोल्न पुग्ने गरेका छन् । बैंक खाता देखि डिम्याट खाता खोल्ने र शेयरमा आवेदन गर्नेहरुका कारण शेयर बजारसँग सम्बन्धित कार्यालयहरुमा भिड लाग्ने गरेको छ । यसरी आवेदन दिने लगानीकर्ताले ठुला कम्पनीको साधारण शेयर पारेका छन् भने साना कम्पनीको शेयरमा भाग्य भन्दै बसेको देखिन्छ ।

पछिल्लो समयमा नेपाल रिइन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त र नेपाल पुर्वाधार विकास बैंकको आईपओमा आवेदन दिएका सबैलाई शेयर परेको छ । कतिपयलाई अन्य कम्पनीको पनि शेयर परेको देखिन्छ । आईपीओमा आवेदकको संख्या धेरै भएपछि माग भन्दा उच्च आवेदन परेकाले गोला प्रथाबाट बाँडफाँड हुन्छ । त्यसमा भाग्यकै भर हो ।

पछिल्लो समयमा शेयर बिक्री गरेका कम्पनीले १० कित्ता देखि ६० कित्तासम्म आईपीओ बाँडेका छन् । यी साधारण शेयर बिक्री गर्न ट्रेडिङ्ग खाता खोल्नु पर्ने हुन्छ । त्यसका लागि पनि धितोपत्र दलाल कम्पनीमा धाउनेको संख्या ह्वात्तै बढेको हुँदा पनि भिड–भाड देखिएको हो । थोरै रकम पनि लगानी गर्न सकिने भएकाले शेयर बजारप्रति विद्यार्थी देखि गृहणीसम्म र बच्चा देखि वृद्धा सम्म जोडिन सम्भव भएको हो।

अनामनगर स्थीत भिजन सेक्युरिटिजमा भेटिएका राजन रेग्मी आईपीओ बेच्नेहरुका कारण ब्रोकर कार्यालयहरुमा भिड बढेको बताउँछन् । वाणिज्य शास्त्रमा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत उनले पनि आईपीओमा परेको शेयर बिक्री गनैकै लागि धितोपत्र दलाल कम्पनी खोज्दै त्यहाँ पुगेको बताए । धितोपत्र दलाल कम्पनीकी एक कर्मचारीले नो योर कस्टुमर(केवाईसि) को फारम भर्न लगाएको बताउदै रेग्मीले भने,“साधारण शेयर बिक्री गर्न धितोपत्र दलाल कम्पनीहरुमा भिड नै धेरै ।”

त्यसैगरी करिब एक वर्षअघिदेखि शेयर बजारमा लगानी गर्न थालेकी गिता शिवाकोटी साथीहरुले लगानी गरेको देखेर बजार प्रबेश गरेको बताउँछीन्। साथीहरुको सुझाव अनुसार आफुले शेयर खरिद गर्ने कम्पनीको बारेमा प्रयाप्त जानकारी राखेर मात्र लगानी गर्न थालेको हुनाले अहिलेसम्म फइदा नै भएको सुनाईन् । शिवाकोटी पनि स्नातक तह अध्ययनरत बिधार्थी नै हुन्।

त्यस्तै ललितपूर बस्ने गृहणी राधिका शर्मा पनि गिता जस्तै दोस्रो बजारमा कारोबारको लागि फारम भर्दै सानो सानो बचतलाई पनि शेयर बजारमा परिचालन गर्न किने हुँदा आफु अकर्षित भएको बताईन । “म शेयर बजारमा भर्खरै प्रवेश गर्दै छु,” चन्द्रागिरी र निफ्राको साधारण शेयर धनी रहेकी उनले भनिन,“मैले परिवारबाट शेयर सम्बन्धि कुरा धेर थोर जानेकी छु ।”

अहिले धितोपत्र दलाल कम्पनीका अधिकांस कार्यालयमा उपस्थित धेरै व्यक्ति कुनै न कुनै कागजका साथ व्यस्त देखिन्छ । यसरी शेयर कारोबारका लागि आवश्यक कागजात बोक्ने व्यक्तिहरु मध्ये गोठाटार भक्तपुर घर भएकी ५६ वर्षिया लक्ष्मी दाहाल पनि शेयर बजारमा लगानी गर्न उत्साहित हुनु भनेको धितोपत्र बजारको चर्चा अधिकांसको घरभित्रसम्म पुगेको स्पष्ट हुन्छ । “म सिग्नेचर गर्न जान्दछु,” लक्ष्मीले भनिन,“मलाई देवरहरुले सोर्पेट गर्नुहुन्छ ।” अहिले उनका घरका सबै सदस्यले सधारण शेयरमा लगानी गर्ने गरेका छन् ।

अर्थतन्त्र कोरोनाका कारण अस्तव्यस्त भएपनि शेयर बजारले भने हरेक दिन नयाँ उचाइ छोएको छ । बढ्दो बजारले पैसा गुमाइन्छ भन्दा पनि कमाइन्छ भनेर लगानी गर्नेको संख्या ह्वात्तै बढेको हो । तर, धितोपत्र बजारको सामान्य सिद्धान्त भनेको बजार बढेको बेला बिक्री गर्ने र घटेको समय किन्ने हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।