मौद्रिक नीतिको समीक्षापछि बैंकिङ्ग समुहका शेयरमा आकर्षण

0
Shares

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि शेयर बजार निरन्तर बढ्दो क्रममा देखिएको छ । पछिल्ला केहि दिन यता शेयर लगानीकर्ताहरुको ध्यान बैंकिङ क्षेत्रमा रहेको छ । विहीबारको बजारमा बीमा र लघुवित्त बाहेकका सबै समुहका सूचक सकारात्मक रहेका छन् । बैंकिङ समूहमा उछाल आउँदा बजारले नयाँ रेकर्ड बनाएको छ ।

यस साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अधिकांस समुहको सूचक सकारात्मक रहेको बजार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

यसदिन नेप्से परिसूचक २५ दशमलव २३ अंकले बढेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । २०६ कम्पनीको कारोबार भएको बजारमा ८ अर्ब ७६ करोड बराबरको शेयर किनबेच भएको छ । बुधबार ८ अर्ब ३ करोड रुपैयाँको किनबेच भएको थियो ।

गत आर्थिक वर्षको लाभांश सुरक्षित गरिसकेका लगानीकर्ताले चालु आवको लाभांशको लक्ष्य राखेर दिर्घकालिन लगानीकर्ताहरु बैकिङ्ग क्षेत्रमा सरेको संकेत बजारले गरेको छ । दिर्घकालिन लगानीका लागि अरु क्षेत्रमा भन्दा बैंकहरुमा गरिएको लगानी सबैभन्दा बढी सुरक्षित मानिन्छ । त्यही भएर पनि बैंकका सस्ता शेयरतर्फ लगानीकर्ता आकर्षित भएका हुन् ।

बिहीबारको नेपाल हाइड्रो डेभलपर्सले १० प्रतिशतले मूल्य बढेको छ । यस्तै कर्णाली विकास बैंक, एभरेष्ट बैंकको अग्राधिकार, वेस्ट फाइनान्स, सिभिल बैंक, निफ्रा, समृद्धि फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि सर्किट लेभलमै बढेको छ ।

मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन ऊर्जा विकास कम्पनी, सर्पोट माइक्रोफाइनान्स अजोड इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, सामुदायिक लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स, फरवार्ड माइक्रोफाइनान्स लगायतको शेयरमूल्य धेरै घटेको छ ।

कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक रहेको छ । बैंकको ५६ करोड १ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल इन्फ्रास्टक्चर बैंक र सिभिल बैंक रहेका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७७, बिहिबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।