मेरोशेयर लगइनमा समस्या अझै हटेन, आईपीओ भर्न लगानीकर्तालाई सास्ति उस्तै

0
Shares

केन्द्रीय निक्षेप प्रणाली (सिडीएस एण्ड क्लियरिङ्ग) को मेरोशेयर सफ्टवेयरको क्षमता विस्तार गरेपनि वेवसाइट तथा मोबाइल एप दुबैबाट लगानीकर्ताले लगइनमा समस्या भोगेका छन् ।

शुक्रबारदेखि ज्योति लाइफ इन्स्योरेन्सको प्रथामिक शेयर (आईपीओ) निष्काशनमा आएपछि मेरो शेयर लगइनको समस्या फेरि देखा परेको हो ।

सिडिएससीले मेरो शेयरको क्षमता सुधार गर्दै लैजाने तथा अनलाइन मिडियाहरुलाई आईपीओ नतिजा वितरणमा रोक लगाउँदै आफ्नै सिस्टमबाट आईपीओ रिजल्ट हेर्ने छुट्टै पोर्टल विकास गरेपनि आईपीओमा आवेदन गर्न लगानीकर्ताको समस्या भने ज्यूँ का त्यूँ देखिएको हो ।

सिस्टमले धान्न नसक्दा शेयर खरीद बिक्रीको राफसाफ (इडिआईएस) मा समस्या हुने भएपछि शुक्रबार आईपीओ निष्काशन र बाँडफाँडको कार्यतालिका बनाएपनि मेरो शेयर सहज रुपमा चल्न सकेको छैन । साढे ३० लाख डिम्याट खाता खुलेकोमा करिब १५ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग वापत वार्षिक ५० रुपैयाँका दरले साढे ७ करोड शुल्क बुझाएपनि राम्रो प्रविधि भने अझै प्रयोग गर्न पाएका छैनन् ।

सफ्टवेयर चल्न छाडेपछि मेरो शेयरको प्रयोगकर्ताहरुले सहज रुपमा शेयर भर्न सकिरहेका छैनन् । सफ्टवेयरमा लगइन गर्न समस्या उत्पन्न हुँदा मेरो शेयर प्रयोगकर्ताले अनलाईनबाट सार्वजनिक निष्काशनहरु आईपीओ, डिबेञ्चर, र हकप्रद शेयरमा आवेदन गर्न तथा आफ्नो शेयर मौज्दात र बिक्री भएको शेयरको इ डिआईएस सम्पे्रषणमा समेत कठिनाई भोगेका छन् ।

हाल ज्योति लाइफको साधारण शेयर (आईपीओ), सामुहिक लगानी कोष कुमारी इक्वीटी फण्डको इकाई सार्वजनिक निष्काशनमा रहेका छन् । त्यसबाहेक पोर्टफोलियो हेर्न, आईपीओ आवेदनपछि स्थिति बुझ्न तथा दोस्रो बजारमा शेयर बिक्री गरेको शेयरको राफसाफका लागि मेरो शेयर लगइन गर्नुपर्ने हुन्छ ।

लामो समयसम्म लगइनमा समस्या देखिने, बल्ल बल्ल लगइन भएपनि लगआउट भैहाल्ने तथा खुलेहाले पनि एउटै आईपीओ भर्न करिब एक घण्टा समय खर्चनुपर्ने भएपनि समाजिक सञ्जालहरुमा मेरो शेयरको प्रयोगकर्ताहरुले सहज सेवा दिन नसकेकोमा सिडिएस एण्ड क्लियरिङ्ग प्रति थुप्रै गुनासो गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २१ फाल्गुन २०७७, शुक्रबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।