बाँडफाँडको महिना दिन पुग्न लाग्दा समेत ग्रीन लाइफको आईपीओ सूचीकृत हुन सकेन

0
Shares

पछिल्लो समय आईपीओ बाँडफाँड एक साता र अर्को साता नै नेप्सेमा सूचीकृत भैरहेको भएपनि फागुन ७ गते बाँडफाँड भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयर भने अझै सूचीकृत हुन सकेको छैन ।

ग्रीन लाइफ हाइड्रोपावरको शेयर रजिष्ट्रार सानिमा क्यापिटलले शेयर सूचीकरणका लागि सबै प्रकृया सकिएको जानकारी दिएको छ ।

नेप्सेबाट सूचीकरणका सम्झौताका लागि बोलावट भैनसकेका कारण ढिलाई भएको क्यापिटलले जनाएको छ । पछिल्लो समय आईपीओमा ठूलो संख्यामा आवेदन पर्ने गरेकाले पनि प्रकृयागत कार्यमा थप समय लाग्ने अवस्था रहेको छ ।

ग्रीन लाइफ हाइड्रोपावरका अनुसार कम्पनीको तर्फबाट गर्नुपर्ने प्रकृया सबै पूरा भएपनि सूचीकरण सम्झौताका लागि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद विदामा रहेका कारण शेयर सूचीकरणमा ढिलाई भएको हो ।

नेप्से स्रोतका अनुसार सीईओ साउद शुक्रबारदेखि नियमित काममा फर्किसकेका छन् । यससँगै कम्पनीको शेयर सूचीकरण सोमबार हुनसक्ने बताइएको छ । सोमबार सूचीकरण भए कम्पनीको शेयर कारोबार मंगलबारदेखि नियमित कारोबारमा आउनेछ ।

हाइड्रोपावरको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता र २ जनाले ११ कित्ताकाले आईपीओ प्राप्त गरेका थिए । ग्रीनलाईफ हाइड्रोपावरले सर्वसाधारणमा माघ २३ गतेदेखि २७ गतेसम्म बिक्री गरेको आईपीओ फागुन ७ गते शुक्रबार बाँडफाँड गरेको थियो ।

कम्पनीले सर्वसाधारणबाट ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि माग गरेकोमा कुल १३ लाख २२ हजार ९७१ वटा आवेदन मार्फत २ करोड २६ लाख ९१ हजार ४९० कित्ताको माग परेको थियो । जुन ६.९८ गुणा धेरै हो ।

हाइड्रोपावरले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोष र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १ चैत्र २०७७, आइतबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।