
महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) चैत ३ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेप्सेमा धितोपत्र सूचीकरण भएको दोस्रो दिनदेखि नियमित कारोबारमा आउने व्यवस्था रहेको छ । यसअनुसार महिलाको शेयर भोलिदेखि कारोबारमा आउनेछ ।
नेपाल स्टक एक्सचेञ्ज र महिला लघुवित्तबीच सोमबारदेखि धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चैत १ गते सोमबार सूचीकरण गरिएको हो । कम्पनीको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता संसथापक र ४ लाख कित्ता साधारण गरी कुल १० लाख कित्ता शेयर सूचीकृत भएको हो ।
लघुवित्तले नेपाल एसबिआई क्यापिटल मार्फत प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जारी गरी फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड गरेको थियो । उक्त आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका थिए ।
कुल ४ लाख कित्ता शेयर निष्काशन गरिएकोमा लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता र सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
- कतिमा खुल्छ पहिलो कारोबार ?
आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार महिला लघुवित्तको प्रतिशेयर नेटवर्थ ३१३.१६ रुपैयाँ छ । जसको आधारमा नेप्सेले कम्पनीलाई न्यूनतम ३१३.१६ रुपैयाँदेखि अधिकतम ९३९.४८ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि प्रतिशेयर नेटवर्थलाई न्यूनतम र प्रतिशेयर नेटवर्थको ३ गुणासम्म अधिकतम रेञ्ज तोक्ने गरेको छ ।
कम्पनीको आईपीओ सूचीकरण भएको दोस्रो दिनमा कारोबार खुल्दा अधिकतम रेञ्जमा खुला भए ९३९ रुपैयाँसम्म खुल्न सक्छ । अधिकतम रेञ्जमा नखुलेको खण्डमा भने न्यूनतम रेञ्ज ३१३ रुपैयाँदेखि अधिकतम रेञ्जभन्दा तल जुनसुकै मूल्यमा पनि खुल्नसक्छ । पहिलोे कारोबारपछि नेप्सेमा नियमित समयमा २ प्रतिशत र प्रि ओपन सेसनमा ५ प्रतिशत घटबढ भएर कारोबार हुनसक्ने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया