बैंकहरुको औसत ब्याजदर घट्यो

0
Shares

गत आर्थिक वर्षको माघ महिनाको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा बैंकहरुको औसत ब्याजदर घटेको छ ।

बैंकहरुले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर ८.८९ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यही अवधिमा बैंकहरुको कर्जाको औसत ब्याजदर ११.९४ प्रतिशत थियो ।

यस्तै ०७७ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.८६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु ६.७८ प्रतिशत थियो । यसअवधिमा बैंहरको औसत आधारदर ९.४५ प्रतिशतबाट घटेर ६.९७ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको यसै अवधिको तुलनामा २.४८ प्रतिशत बिन्दुले आधार दर घटेको छ।

वित्तीय प्रणालीमा तरलता प्रशस्त भएको हुँदा बैंकहरुले निक्षेपको ब्याज घटाएका कारण आधार दर घटेको हो।

यसैगरी २०७६ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.९१ प्रतिशत रहेकोमा २०७७ माघमा १.१३ प्रतिशतमा झरेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ माघमा ४.५९ प्रतिशत रहेकोमा २०७७ माघमा ०.५८ प्रतिशत रहेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि अन्तरबैंक कारोबारको ब्याजदरमा भारी गिरावट आएको हो । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ माघमा ०.५९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.८ प्रतिशत र निजी क्षेत्रमाथिको दावी १४.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.४ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १७.३ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७० प्रतिशत छ । आयात ०.०१ प्रतिशतले र निर्यात ७.६ प्रतिशतले बढेको छ । यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ ।

त्यस्तै शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलर रहेको छ ।

विस्तृत मुद्राप्रदाय १०.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.३ प्रतिशतले बढेको छ । संघीय सरकारको खर्च रु.४९९ अर्ब ६८ करोड र राजस्व परिचालन रु.४९८ अर्ब ५२ करोड छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  १७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।