आयात बढेपछि एक महिनामा शोधनान्तर बचत २७ अर्बले घट्यो

0
Shares

चालु आर्थिक वर्षको माघ महिनाको शोधनान्तर बचत घटेर ९७ अर्ब रुपैयाँमा झरेको छ । चालु आर्थिक वर्षको पुस महिनाको तुलनामा माघमा शोधनान्तर बचत २७ अर्ब ५६ करोडले घटेको हो ।

पुस महिनामा शोधनान्तर बचत १२४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो । पुसको तुलनामा माघ महिनामा आयात बढेपछि शोधनान्तर बचत घटेको हो।

त्यती मात्र नभै पुस महिनाको तुलनामा माघमा भित्रिएको रेमिट्यान्समा पनि कमी आएको छ । पुसमा ७० अर्ब भन्दा धेरै रेमिट्यान्स भित्रिएकोमा माघमा ६१ अर्ब रुपैयाँमा सिमित भएको छ । यसले गर्दा पनि पुसको तुलनामा माघमा शोधनान्तर बचत घटेको हो ।

चालु आर्थिक वर्षको पुसमा ६६१ अर्बको आयात भएकोमा माघ महिनामा बढेर ८०३ अर्ब पुगेको छ । कोरोनाको जोखिम न्यूनीकरण भएसंगै आयतामा वृद्धि भएपछि त्यसको असर शोधनान्तर बचतमा परेको हो ।

चालु आर्थिक वर्षको माघ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो ।

माघ महिनामा चालु खाता १०१ अर्ब ९० करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता १०६ अर्ब घाटामा थियो । चालु आवको माघसम्ममा पूँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ७ अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो ।

२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०७७ माघ मसान्तमा १४६२ अर्ब ३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई १२८७ अर्ब ५० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ माघ मसान्तमा ०.७ प्रतिशतले कमी आई १७४ अर्ब ५३ करोड कायम भएको छ ।

२०७७ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.१ महिनाको वस्तु आयात र ११.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।