अजोडको हकप्रद प्रस्तावले सबै नयाँ बीमा कम्पनीको पनि शेयर मूल्य उचाल्यो

0
Shares

पूँजीवृद्धि प्रस्तावले अजोड इन्स्योरेन्सले शेयरमूल्य बढेसँगै अन्य सबै नयाँ जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा मंगलबार उछाल आएको छ ।

चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने सूचना चुहिएपछि सोमबार देखि नै अजोडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । कम्पनीले साधारण सभाको सूचनामा हकप्रद प्रस्तावलाई समेटेपछि कम्पनीको शेयरमूल्यमा मंगलबार दोस्रो दिनपनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको मूल्य ९.९२ प्रतिशत अर्थात ७७ रुपैयाँले बढेर ८५३ रुपैयाँ पुगेको छ ।

बैशाख ७ गते आह्वान गरेको तेस्रो वार्षिक साधारण सभामा ५० प्रतिशत हकप्रद शेयर जारी गरेर पूँजीवृद्धि गर्ने विशेष प्रस्तावले अजोड इनस्योरेन्सको मूल्यसँगै अन्य चार नयाँ सूचीकृत बीमा कम्पनीहरु सानिमा जनरल, जनरल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको समेत शेयरमूल्यमा मंगलबार वृद्धि भएको छ ।

अजोड इन्स्योरेन्सले हकप्रद प्रस्तावले अन्य कम्पनीहरुको पनि पूँजी वृद्धि प्रस्ताव आउने आंकलन गर्दै लगानीकर्ताहरुको आकर्षण नयाँ बीमा कम्पनीको शेयरमा परेको हो ।

नयाँ बीमा कम्पनीमा धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गर्दा शेयर धेरै लगानीकर्तामा छरिएको अवस्था छ । कारोबारमा आएका शेयर पनि सीमित व्यक्तिमा मात्र रहेका कारण कारोबारीहरुका लागि यी कम्पनीको शेयरमूल्य बढाउन पुराना कम्पनीको तुलनामा सजिलो छ ।

यता हकप्रद प्रस्तावको अघिल्लो दिन शेयरमूल्य बढेर उच्च र सूचना बाहिरिएपछि न्यून कारोबार भएपछि अजोडको  सोमबारको सूचना चुहावट (इन्साइडर ट्रेडिङ) बाट कारोबार भएको भन्दै लगानीकर्ताले त्यसको छानबिनका लागि सामाजिक सञ्जालको विभिन्न फोरमहरु मार्फत धितोपत्र बोर्डलाई आग्रह गरेका छन् । सोमबार ७१६ मा कारोबार खुला भएको कम्पनीको शेयर ६० रुपैयाँले बढेर ७७६ रुपैयाँ पुग्दै ८ करोड ९५ लाख रुपैयाँ बराबरको उच्च कारोबार भएको थियो । मंगलबार भने कम्पनीको १ करोड ११ लाखको मात्र कारोबार भएको छ । यसले पनि सोमबार भित्री कारोबार भएको आशंका लगानीकर्तामा रहेको छ । 

मंगलबार अजोड इन्स्योरेन्स सहित सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर बढेको छ । दुबै कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।  आजको कारोबारमा सानिमा जनरल इन्स्योरेन्सको ९.९७ प्रतिशत अर्थात ६४ रुपैयाँले शेयरमूल्य बढेर ७०६ रुपैयाँ पुगेको छ । यस्तै जनरल इन्स्योरेन्सको शेयरमूल्य पनि ९.९४ प्रतिशत ६३ रुपैयाँले बढेर ६९७ रुपैयाँ पुगेको छ ।

नयाँ निर्जीवन मात्र होइन नयाँ जीवन बीमा कम्पनीको शेयर मूल्य पनि बढेको छ । शेयर बजारमा सूचीकृत प्रभु लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर मूल्य पनि बढेको छ । मंगलबार प्रभु लाइफ शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र अटाएको छ । कम्पनीको शेयर ८.६१ प्रतिशत अर्थात ६५ रुपैयाँले शेयरमूल्य बढेर ८२० रुपैयाँ पुगेको छ । रिलायन्स लाइफको पनि ५.३४ प्रतिशत अर्थात ३६ रुपैयाँले शेयरमूल्य बढेर ७१० रुपैयाँ पुगेको छ ।

धितोपत्रको दोस्रो बजारमा कार्तिक १९ देखि कारोबार हुन थालेको सानिमा जनरलको शेयर माघ २१ गते अधिकतम ७७१ रुपैयाँमा कारोबार भएकोमा सो पश्चात घट्न थालेको थियो । पछिल्लो समय सानिमा जनरलको शेयर चैत २ गते सबैभन्दा कम ५९६ मा अन्तिम कारोबार भएको थियो । त्यससताका ९ कारोबारदिनमा २ प्रतिशतभन्दा बढी भाउ नबढेको कम्पनीको शेयरमा मंगलबारमा सर्किट लागेको हो ।  सोमबार ६२ लाख ८ हजारको शेयर कारोबार भएको जनरल इन्स्योरेन्सको मंगलबार २ करोड १५ लाखको शेयर खरीद बिक्री भएको छ । 

जनरल इन्स्योरेन्सको असोज १८ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार हुन थालेको हो । त्यससता कम्पनीको शेयरमूल्य माघ २१ गते सबैभन्दा धेरै ७६० रुपैयाँसम्ममा कारोबार भएको देखिन्छ भने सो पछि घटेर चैत २ गते सबैभन्दा कम ६०२ रुपैयाँमा कारोबार भएको छ । त्यससात चैत ८ गते आइतबार साढे ४ प्रतिशतले बढ्नु बाहेक सामान्य घटबढ भएको कम्पनीको शेयरमा मंगलबार ९.९४ प्रतिशतको बढोत्तरी देखिएको हो । सोमबार ५४ लाख ६३ हजारको शेयर कारोबार भएको जनरल इन्स्योरेन्सको मंगलबार ३ करोड ६७ लाखको शेयर खरीद बिक्री भएको छ । 

पुस १९ गतेदेखि दोस्रो बजारमा कारोबार खुला भएको प्रभु लाइफ इन्स्योरेन्सको माघ २० गते सबैभन्दा उच्च १०१६ रुपैयाँसम्म पुगेकोमा पछिल्लो समय चैत २ गते ७१७ रुपैयाँसम्म झरेको थियो। त्यसपछि २-३ प्रतिशतभन्दा धेरै घटबढ नभएको कम्पनीको शेयरमूल्य मंगलबार ८ प्रतिशत धेरै बढेको हो । सोमबार १ लाख १९ हजारको शेयर कारोबार भएको प्रभु लाइफ इन्स्योरेन्सको मंगलबार ४ करोड ४८ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । 

यस्तै रिलायन्स लाइफको पनि चैत २ गते ६२७ रुपैयाँसम्म झरेकोमा त्यससता चैत ८ गते एक दिन मात्रै ३ प्रतिशत बढीले बढेकोमा मंगलबार आएर ५ प्रतिशत बढीले बढेको हो । सोमबार १ लाख ५७ हजारको शेयर कारोबार भएको रिलायन्स लाइफ इन्स्योरेन्सको मंगलबार ५ करोड ५६ लाखको शेयर खरीद बिक्री भएको छ । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलबार  १६ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।