कर्णालीमा लगानी सम्मेलन आयोजना हुने, महासङ्घ सहजीकरण गर्न तयार

0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।

महासङ्घका अध्यक्ष शेखर गोल्छासहित महासङ्घका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का, सदस्य डा. दीपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाही समेतको प्रतिनिधिमण्डलबीच आज महासङ्घ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने धारणा राखे ।

लगानीकर्ताले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी गर्नेसमेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसँग महासङ्घले सहजीकरण गर्ने पनि जानकारी गराए । छलफलमा महाङ्घका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठको पनि सहभागिता थियो ।

कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडि बढाएको जानकारी दिए।

उनले योजना आयोग र महासङ्घको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्ने समेत डा. खड्काले बताए।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार  १८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।