धितोपत्रको दोस्रो बजारमा चालु आर्थिक वर्षको ८ महिना अर्थात साउनदेखि फागुन महिनासम्ममा मात्रै करिब साढे २ खर्ब थप लगानी भित्रिएको अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाले शेयर धितो लोन, ओभरड्रफ्ट तथा टर्म लोनमा आएको उच्च वृद्धिले पनि शेयर बजारमा लगानी थपिएको स्पष्ट भएको हो।
चालु आवको फागुन अर्थात ८ महिनासम्ममा कोरोनाका कारण अधिकांस व्यापार व्यवसाय सञ्चालनमा थिएनन् । यो अवधिमा अन्य कर्जामा भन्दा पनि व्यक्तिगत प्रकृतिका कर्जा प्रबाह उच्च दरमा बढेको छ । कोरोनाका कारण लकडाउन तथा निषेधाज्ञा भएको अवस्थामा पनि बैंक वित्तीय संस्थाबाट व्यक्तिगत प्रकृतिका कर्जा प्रबाह बढ्नु र धितोपत्र बजार सूचक ऐतिहासीक उचाइमा पुग्नु पनि शेयर बजारमा लगानी वढेको स्पष्ट छ ।
कोरोनाका कारण लगानीका अन्य क्षेत्र ठप्प रहेको अवस्थामा सबै क्षेत्रको लगानी शेयर बजारमा केन्द्रित भयो । त्यती मात्र नभई बैंक वित्तीय संस्थाबाट प्रबाह हुने व्यक्तिगत कर्जा समेत सोही क्षेत्रमा गएपछि शेयर बजारको आकार ऐतिहासिक नै बन्न पुगेको छ ।

चालु आवको फागुनसम्ममा बैंक वित्तीय संस्थाले कुल २४८ अर्ब रुपैयाँ व्यक्तिगत कर्जा थप गरेका छन् । यो कर्जाको आकार गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा करिब ७५ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाले कुल १४३ अर्ब रुपैयाँ मात्र व्यक्तिगत प्रकृतिका कर्जा थप गरेका थिए । चालु आवमा लगानीका अन्य क्षेत्र ठप्प हुनु तथा बैंक वित्तीय संस्थाको कर्जाको ब्याजदर न्यून भएकाले पनि यस्ता प्रकृतिका कर्जा बढ्न गएका हुन् ।
त्यसका साथै नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर बजारको लगानीमा खुकुलो नीति लियो । त्यसले पनि अन्य आर्थिक गतिविधि ठप्प रहेको अवस्थामा समेते पुँजी निर्माणका लागि शेयर बजारको विकल्प खुला रह्यो । यसले पनि घरमा बसेका सबै क्षेत्रमा मानिसले शेयर बजारमा लगानी बढाउन थालेपछि नेप्से सुचक मात्र नभै कारोबार रकम पनि १० अर्बको हाराहारीमा पुगेको थियो ।
चालु आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ९३ अर्ब २८ करोड २० लाख रुपैयाँ ओभरड्राफ्ट थप गरेका छन् । गत आर्थिक वर्षको फागुनसम्ममा बैंक वित्तीय संस्थाले ३३ अर्ब ७३ करोड ७० लाख रुपैयाँ मात्र सो शिर्षकमा थप गरेका थिए ।
त्यसैगरी चालु आर्थिक वर्षको फागुनसम्मा अर्थात ८ महिनाको अवधिमा बैंक वित्तीय संस्थाले मार्जिङ प्रकृतिको कर्जा ३१ अर्ब ७० लाख रुपैयाँ बरावरको थप गरेका छन् । गत आवको सोही अवधिमा बैंक वित्तीय संस्थाले यस्तो कर्जा एक अर्ब ५८ करोड रुपैयाँ मात्र थप गरेका थिए ।
बैंक वित्तीय संस्थाले जारी गर्ने टर्म लोन पनि धितोपत्र बजारमा आउने गरेको छ । यसले गर्दा पनि शेयर बजारमा लगानी उल्लेख्य बढ्नमा थप मद्दत पुगेको हो । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाले टर्म लोन मात्र १२४ अर्ब ८५ करोड रुपैयाँ थप गरेको अवस्था छ । गत आवको ८ महिनामा बैंक वित्तीय संस्थाले १०७ अर्ब रुपैयाँ मात्र टर्म लोन थप गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसरी चालु आवको फागुन सम्मका बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको टर्म लोनको आकार ८४३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असारसम्ममा बैंक वित्तीय संस्थाले प्रबाह गरेको मार्जिन कर्जा ७१८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको फागुनसम्ममा यस्तो कर्जाको आकार ५८४ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक वित्तीय संस्थाले प्रबाह गरेको मार्जिन प्रकृतिको कर्जाको आकार ८१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंक वित्तीय संस्थाले यो शिर्षमा प्रबाह गरेको कुल कर्जा ५० अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । गत आवको फागुनसम्ममा बैंक वित्तीय संस्थाले प्रबाह गरेको मार्जिन प्रकृतिको कुल कर्जा ३७ अर्ब १५ करोड रुपैयाँ मात्र थियो ।
त्यसैगरी चालु आवको फागुनसम्ममा बैंक वित्तीय संस्थाले जारी गरेको कुल ओभरड्राफ्ट ५८१ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । गत असारसम्ममा यो शिर्षकमा बैंक वित्तीय संस्थाले ४८८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रबाह गरेका थिए । तर, गत आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट शिर्षकमा ४०८ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।
कोरोनाका कारण आर्थिक गतिविधि हुन नसकेको समयमा शेयर बजारलाई चलायमान बनाउने उद्देश्य अनुरुप नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाका व्यवस्थाहरुमा केही खुकुलो नीति लियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले मार्जिन प्रकृतिको कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई ७० प्रतिशत कायम गर्यो । त्यसका साथै मार्जिन प्रकृतिको कर्जा प्रवाहमा शेयरको मूल्याङ्कन गर्दा १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम ग¥यो । यो व्यवस्थाले शेयर बजारमा झनै उत्साह थप्यो । तर, पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षाले शेयर बजारलाई अप्रत्यक्ष रुपमा केही कडाई गरेको भएपनि अन्य शिर्षकमा लिएका कर्जाहरु समेत शेयर बजारमा जान थालेपनि शेयर धितोपत्र बजार उल्लेख्य सुधार आएको हो ।
केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत शेयर तथा ओभरड्राफ्टमा अप्रत्यक्ष रुपमा नियन्त्रण गरेको भएपनि अर्धबार्षिक समिक्षले सो क्षेत्रमा बढेको लगानीको सन्दर्भमा नजरअन्दाज गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजारबाट अरुले कमाएकोमा डाहा नगर्न भन्दै अस्वभाविक लगानी बढेको खण्डमा मौद्रिक नीतिको तेस्रो त्रैमास मार्फत नियन्त्रण गरिने बताएका थिए । यसले बैंकिङ प्रणालीको पैसा इजी मनि निर्माणका लागि अनुत्पादन तर्फ गएको छ । यस सन्दर्भमा नेपाल राष्ट्र बैंकले ध्यान दिनु पर्ने देखिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया