इमर्जिङ्ग नेपालले ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक

0
Shares

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले साधारण सभाबाट साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेसँगै निष्काशनको प्रकृया अघि बढाएको हो ।

कम्पनीले शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र एनआईसी एशिया क्यापिटलका बिचमा सम्झौता भएको छ । सम्झौतामा एन आई सी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले हस्ताक्षर गरेका छन् । अब क्यापिटलले कम्पनीको साधारण शेयर निष्काशनको प्रकृया अघि बढाउने छ ।

कम्पनीले १०० रुपैंया अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले कर्मचारीलाई सहित उक्त परिमाणको शेयर जारी गर्न लागेको हो ।

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकासमा काम गर्नेछ ।

मुलुकको आर्थिक विकासका लागि पूर्वाधारको रुपमा रहेको फास्ट ट्रयाक, सुरुङ मार्ग, एयरपोर्ट, सडक, प्रविधि, जलविद्युत् निर्माण, वितरण, पूर्वाधारसम्बन्धी वित्तीय संस्था, खानीलगायतका व्यावसायिक क्षेत्रहरुमा स्वदेशी तथा विदेशी संस्थाहरुसँग मिलेर अध्ययन तथा अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, लगानी गर्ने, स्थापना गर्ने, सञ्चालन गर्ने उद्देश्य इमर्जिङ नेपालले लिएको छ ।

कम्पनीले विभिन्न लगानीका क्षेत्रहरु पहिचान गर्ने, सो सम्बन्धी परामर्शदाताहरुसँग परामर्श लिने, पूर्वाधारसम्बन्धी गोष्ठी कार्यशाला तालिम आयोजना गर्ने गराउने तथा राष्ट्रको पूर्वाधारको आवश्यकताको पहिचान गरी सो सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने र गराउने समेत उद्देश्य लिएको छ । कम्पनीले विभिन्न पब्लिक लिमिटेड, प्राइभेट लिमिटेड कम्पनीहरु, पूर्वाधार विकाससँग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने तथा गराउने र आवश्यक स्रोत व्यवस्था गर्ने समेत उद्देश्य लिएको छ ।
प्रतिष्ठित उद्योगी व्यवसायी, एनआरएन, उच्च पदस्थ पूर्व सरकारी अधिकारी, बैंकर, धितोपत्र बजारका अगुवा लगायत २४ शेयरधनी कम्पनीको संस्थापक छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार  १८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।