
चैत २९ गते आइतबार आज तीन कम्पनीको साधारण सभा सम्पन्न गर्दैछन् । मिथिला लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभा र किसान लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गर्न लागेको हो ।
जसमध्ये मिथिला लघुवित्तले शेयरधनीलाई लाभांश दिएको छ भने अन्य दुई कम्पनीले शेयरधनीलाई खाली हात पारेका छन् । हेरौं आज सम्पन्न हुने साधारण सभाबाट कुन लघुव्त्तिले के के प्रस्ताव पारित गर्दैछन् ?
मिथिला लघुवित्त
मिथिलाले चैत २९ गते धनुषाको जनकपुरधाम स्थित होटेल राजदरबार एन्ड नवरंग रिसोर्टमा बिहान ११ बजे आह्वान गरिएको १२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ बाट प्रस्तावित १२ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
यस्तै सभाले मिथिला लघुवित्त र अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्तसँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्यहरु गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने तथा बोनसपछि जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोहीअनुसार नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत १७ गते मंगलबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत १६ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
समीट लघुवित्त
समीट लघुवित्तको चैत्र २९ गते आह्वान गरिएको बाह्रौं वार्षिक साधारण सभाले ६ लाख कित्ता थप नयाँ साधारण शेयर (एफपिओ) निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
लघुवित्त सञ्चालक समितिको चैत ६ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले सजिलो लघुवित्तसँगको मर्जर पश्चात संस्थापक शेयर र साधारण शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग रहेको बराबरको ६ लाख कित्ता एफपीओ जारी गर्ने प्रस्ताव सहित सहित सभा बोलाएको छ ।
तनहुँको आबुंखैरेनी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा बिहान १० बजे बोलाइएको सभामा साधारण सभाले एफपीओ जारी गर्ने, अन्य लघुवित्तसँग मर्जर प्राप्तीका लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको हो ।
साधारण सभाबाट सो प्रस्ताव पारित भएमा एफपिओ निष्काशन प्रक्रिया अगाडि बढ्नेछ । त्यसपश्चात नियामक निकायबाट एफपीओ जारी गर्ने अनुमतिपछि मात्र शेयर बिक्रीमा आउनेछ ।
त्यस्तै संस्थापक समुहको ४ जना र सर्वसाधारण समुहको २ जना गरि ६ सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको सेवा सुविधा परिमार्जन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने, मर्जर सम्बन्धि खर्च अनुमोदन गर्ने, लगायतका प्रस्ताव पेश हुने छन् ।
गत आव २०७६र७७ बाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको यस लघुवित्तले साधारण सभा प्रयोजनको लागि भने चैत्र १७ देखि मंगलबारदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार चैत्र १६ गते सोमबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
किसान लघुवित्त
किसान लघुवित्त वित्तीय संस्थाले चैत २९ गते बिहान ११ बजे, कैलालीको लम्की चुहास्थित आफ्नै भवनमा दोस्रो वर्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले किसान लघुवित्त र अन्य संस्था गाभ्नेरगाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव उपर छलफल गरी पारित गर्ने भएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, सभामा लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
यसअघि लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित अघिल्लो सदन साधारण सभा आह्वान गरेर भोलिपल्टै हकप्रद प्रस्ताव साधारण सभाबाट हटाएपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण समेत सोधेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया