फागुनसम्मको एक वर्ष अवधिमा शेयर बजार परिसूचक मापक नेप्से १ हजार ८१ दशमलव ३० अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७६ फागुन मसान्तमा १३७७.२० रहेको नेप्से सूचकाङ्क २०७७ फागुन मसान्तमा २४५८.५० अंकमा पुगेको हो ।
चालु आव यता नै भने नेप्से १ हजार ९६ दशमलव १० अंकले बढेको छ । २०७७ असार मसान्तमा नेप्से सूचकाङ्क १३६२.४० रहेको थियो ।
विसं २०७७ फागुन मसान्तमा धितोपत्र बजार पूँजीकरण पनि १५ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँले बढेको छ । फागुन मसान्तसम्मसम्ममा कुल बजार पूँजीकरण ३३ खर्ब ८७ अर्ब ३४ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १८.४ प्रतिशत रहेको छ ।
- २ खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ फागुनसम्ममा २ खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
यस अवधिमा १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, २८ अर्ब ७६ करोड बराबरको बोनस शेयर, १० अर्ब ५ करोड बराबरको डिबेन्चर, ३ अर्ब २८ करोड बराबरको हकप्रद शेयर र १ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्डको इकाई जारी भएको हो । सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ५१ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्ममा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड बराबरको हकप्रद शेयर गरी कुल २९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।
विसं २०७७ फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ८ अन्य समूहका गरी २१७ कम्पनी रहेका छन् ।
२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेकोमा पछिल्लो आठ महिनामा ५ कम्पनी थपिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया