
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ९३ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आवको फागुन मसान्तसम्ममा ९३ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।
गत आवको चैत्रमसान्तसम्ममा कम्पनीहरुले ६३ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा ४६.७७ प्रतिशतले बीमाशुल्क संकलन बढेको हो ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीले चैत्र महिनासम्ममा ३२ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ६० अर्ब ९६ करोड रुपैयाँ नविकरण बीमा शुल्क र ४४ करोड रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क गरी कुल ९३ अर्ब ८६ करोड रुपैयाँ संकलन गरेका हुन् ।
चालु आवको चैत्र महिनासम्ममा बीमा कम्पनीमा ८१ लाख ८७ हजार ९६८ वटा बीमालेख जारी भएका छन् । यस अवधिमा ७ लाख २३ हजार ८१७ वैदेशिक रोजगार बीमालेख र जीवन बीमालेख ८३ लाख ३४ हजार ५३४ वटा गरी सो मात्रामा बीमालेख जारी भएका हुन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको चैत्र मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २५ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन कुल जीवन बीमा कम्पनीले संकलन गरेको बीमाशुल्कको २७ प्रतिशत धेरे हो । कम्पनीले चैत्र महिनामा मात्रै २ अर्ब ७७ रुपैयाँ बीमा शुल्क उठाउन सफल भएको छ ।
दोस्रो ठूलो बीमाशुल्क लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले संकलन गरेको छ । कम्पनीले १३ अर्ब ६६ करोड रुपैयाँ संकलन गरेको हो । समितिको तथ्यांक अनुसार चैत्र मसान्तसम्ममा एलआईसीपछि नेशनल, राष्ट्रिय बीमा संस्थानले धेरै बीमा शुल्क संकलन गरेका छन् ।
चैत्रमसान्तसम्ममा नेशनल लाइफले ८ अर्ब ७५ करोड र राष्ट्रिय बीमा संस्थाने ६ अर्ब ९१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
यूनियनले ५ अर्ब १६ करोड, एशियनले ४ अर्ब ६४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ३ करोड रुपैयाँ, सूर्याले ३ अर्ब २७ करोड रुपैयाँ, प्राइमले ३ अर्ब १० करोड रुपैयाँ, गुँरासले ३ अर्ब ५ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ ।
यसैगरी रिलायबलले २ अर्ब ३२ करोड रुपैयाँ, ज्योतिले २ अर्ब २८ करोड रुपैयाँ, रिलायन्सले १ अर्ब ९१ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ, सन नेपालले १ अर्ब ६८ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब १३ करोड रुपैयाँ र महालक्ष्मीले सबैभन्दा कम ६८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया