
कोराना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै तीव्र रुपमा संक्रमित बढ्न थालेपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ ।
शुक्रबार बिहानसम्म मुलुकका ७७ जिल्लामध्ये १६ जिल्ला पूर्णरुपमा बन्द छन् भने थप ४ जिल्लामा निषेधाज्ञा लगाउने तयारी छ । दाङमा शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भैसकेको छ भने पाल्पा र सुनसरीमा राति १२ बजेबाट तथा जाजरकोटमा शनिबार राति तथा सल्यानमा आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा सुरु हुने भएको छ ।
शुक्रबारसम्म पूर्ण तथा आंशिक गरी २० जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । पूर्णरुपमा निषेधाज्ञा लागेका जिल्लामा काठमाण्डौं, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, चितवन, दाङ, पाल्पा, सल्यान, सुनसरी, जाजरकोट, र रुपन्देही गरी १६ जिल्लामा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।
यता बागलुङ, कालिकोट र बर्दिया र दार्चुला गरी चार जिल्लामा भने आंशिक निषेधाज्ञा लागू भएको छ । ती जिल्लाका निश्चित क्षेत्रमा मात्र लकडाउन लगाइएको छ । बागलुङ र कालिकोटको लकडाउन अवधी शुक्रबार बेलुका १२ बजेबाट समाप्त हुँदैछ भने बर्दियामा लगाइएको निषेधाज्ञा १९ गते आइतबार सकिनेछ ।
सरकारले अत्यावश्यक सेवा सुविधा बाहेक अन्य सम्पूर्ण सेवा सुविधामा रोक लगाउदै सुरक्षित रहन लकडाउन अर्थात निषेधाज्ञाको घोषणा गरेको हो । धेरैजसो स्थानहरुमा जेठ २२ गतेसम्म निषेधाज्ञा लगाइएको छ भने बैशाख १९ गते आइतबारदेखि निषेधाज्ञा जारी गर्न लागिएको सल्यानमा जेठ १ गतेसम्म रहेको छ । अन्य स्थानहरुमा बैशाख मसान्त वा आगामी शुक्रबार वा शनिबारसम्म निषेधाज्ञा जारी गरिएको छ ।
गृह मन्त्रालयका अनुसार निषेधाज्ञाका लागि फेरि ४ जिल्लाहरु थपिने भएका छन् । दाङ, पाल्पा, सुनसरीमा आजदेखि निषेधाज्ञा सुरु भएको छ भने जाजरकोटमा शनिबार राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै कास्की र सुनसरीमा निषेधाज्ञा जारी भएपनि जोर विजोर प्रणाली मार्फत सवारीसाधन सञ्चालन गर्न दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म निषेधाज्ञा जारी भएका जिल्लामध्ये बाँकेमा २० गतेसम्म, सुर्खेत र कास्कीमा २१ गतेसम्म, काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा र कञ्चनपुर २२ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।
यसैगरी शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको दाङमा २५ गतेसम्म, शुक्रबार राती १२ बजेदेखि पाल्पा र सुनसरीमा लाग्ने निषेधाज्ञा २४ गतेसम्म जारी रहनेछ । बागलुङ र कालिकोटमा लगाइएको निषेधाज्ञा शुक्रबार म्याद सकिँदैछ । बागलुङमा बैशाख ७ गतेदेखि र कालिकोटमा बैशाख १० गतेबाट आंशिकरुपमा निषेधाज्ञा लगाइएको थियो । बर्दियामा बैशाख १३ गतेबाट लगाइएको आंशिक निषेधाज्ञा बैशाख १९ गते आइतबार सकिँदैछ । यी स्थानमा समाचार तयार पार्दासम्म थप गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन ।
यस्तै बैशाख १६ गते बिहीबारदेखी पूर्णरुपमा निषेधाज्ञा लगाइको रुपन्देहीमा ३० गतेसम्म, चितवनमा ३१ गतेसम्म जारी रहनेछ । बिहीबारदेखि नै आंशिक रुपमा दार्चुलामा लगाइएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि जारी रहनेछ ।
वैशाख १३ गतेको को मन्त्रिपरिषद बैठकले काठमाण्डौं उपत्यका र तराईका जिल्लामा ५०० भन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।
सरकारले जारी गरेका निर्देशन एवं स्वास्थ्य मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी निषेध आदेशको पूर्ण रुपमा पालना गरी संक्रमण फैलन नदिन सवै पक्षलाई सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया