राजधानीका केही अस्पतालमा अक्सिजन अभाव, सीमित शय्यामात्र सञ्चालनमा ल्याइने

0
Shares

कोरोनाबाट सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ।

अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् ।

ती अस्पतालले अक्सिनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा ल्याइने बताएका छन् ।

चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले आज संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रष्ट पारेका छन् ।

सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई सङ्क्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्य सङ्क्रमितलालाई रातरात अन्य अस्पतालमा सारिएको थियो ।

चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ बैशाख २०७८, शनिबार  २० : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।