अब सिसिएमसीले अक्सिजन उपलब्ध गराउने

0
Shares

कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अबदेखि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी) ले गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सिसिएमसीले उपलब्ध गराउने जानकारी दिए ।

यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो । “मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सिसिएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ” सूचना भनिएको छ ।

आइतबार मात्र सिसिएमसीले सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर रहेको छ ।

निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ ।

महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिण्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मार्फत् नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन आह्वान गरेका हुन् ।

यसमा सहयोग गर्न अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महासङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत संङ्घलाई महासङ्घले विज्ञप्तिमार्फत् अपिल गरेको छ ।

देशभर हाल सञ्चालित साढे ६ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरको प्रयोग भएको छ । ती सिलिण्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने हुँदा सोही बमोजिम गर्न गराउन हुन महासङ्घले अनुरोध गरेको हो ।

गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासङ्घले सङ्घीय सरकार तथा प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा पनि महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पीडितको घाऊमा मल्हम लगाउने कार्य गरेको स्मरण पनि महासङ्घले गराएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट देशभर सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको छ । यस खबरबाट महासङ्घ मर्माहत भई यस्तो निर्णय गरिएको महासचिव दाहालले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।