कोरोना खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि अमेरिकी राजदूत बेरीलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

0
Shares

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कुटनीतिक पहल तीव्र पारेका छन् ।

यसैक्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरे । नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उनले बताए । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उनले बताए ।

अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिए । तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने उनले बताए । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भने ।

अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहिबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।