केन्द्रीय तथ्याङक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि बाग्मती प्रदेशको खुद्रा ब्यापारमा भर पर्ने जनाएको छ । विभागले वाग्मती प्रदेशको ४.७ प्रतिशतको आर्थिक वृद्धिले समग्र देशको अर्थतन्त्र नै सोही अनुसार अघि वढ्ने औल्याएको हो ।
विभागले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान गरेको छ । विभागले बाग्मती प्रदेशको मात्र आर्थिक वृद्धि ४.७ प्रतिशतले हुने अनुमान गरेको छ । विभागका अनुसार राष्ट्रिय कुल ग्रार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै हिस्सा रहेको बाग्मतीको अर्थतन्त्र खुद्रा व्यापारको भरमा टिकेको छ ।
गत आर्थिक वर्षमा आर्थिक वृद्धि २.०९ प्रतिशतले नकारात्मक रहेको थियो । चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिलाई सन्तोजनक मान्नु पर्ने विभागले जनाएको छ । गत आर्थिक वर्षमा बाग्मती प्रदेशको आर्थिक वृद्धि ३.६ प्रतिशतले ऋणात्मक थियो । देशको कुल ग्रार्हस्थ्य उत्पादनमा सबै भन्दा धेरै हिस्सा रहेको बाग्मती प्रदेशको अर्थतन्त्रमा भने खुद्रा ब्यापारको मूख्य योगदान रहेको छ ।

संघिय संरचना अनुसार रहेका ७ प्रदेश मध्ये अधिकासंको कुल गार्हस्थ्य उत्पादनमा कृषिको मुख्य भुमिका रहेको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा दोस्रो ठुलो योगदान गर्ने प्रदेशमा प्रदेश १ रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा प्रदेश २ को योगदान १५.६ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षमा प्रदेश १ को अर्थतन्त्र १.२, प्रदेश २ को १.६, वाग्मती ३.६, गण्डकी १.७, लुम्बिनी १.८ प्रतिशतले ऋणात्मक रहेका थिए । तर, कर्णाली ०.६ र सुदुरपश्चिम प्रदेशको अर्थतन्त्र ०.७ प्रतिशतले बढेका थिए ।
चालु आर्थिक वर्ष २०७७/७८ मा सबै प्रदेशको आर्थिक क्रियाकलापहरु कोभिड–१९ को प्रथम चरणको महामारीको संक्रमणपछि सामान्य अवस्था तिर फर्किन खोजेको विभागले जनाएको छ । चालु आवमा सबै प्रदेशका गार्हस्थ्य उत्पादनको वृद्धिदर गत आवको आर्थिक वृद्धि दर भन्दा बढ्ने अनुमान विभागको छ । तर, कोरोनाको दोस्रो लहरले बैंशाख महिनाको दोस्रो सातादेखि देशका अधिकासं जिल्लामा आर्थिक गतिविधि ठप्प रहेका छन् । दोस्रो लहरको कोरोनाको संक्रमणदर पनि विगतको तुलनामा नकिै उच्च र जोखिम युक्त रहेको छ । यसले गर्दा यो आर्थिक वर्षका अन्तिम साढे २ महिना आर्थिक गतिविधि प्रभावित हुदाँ समग्र अर्थतन्त्रमा असर पर्न सक्ने जोखिम पनि उत्तिकै छ ।
चालु आवमा राष्ट्रिय बार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ४२ खर्ब ६६ अर्ब हुने अनुमान विभागले गरेको छ । यसमा सबैभन्दा धेरै ३७.७ प्रतिशत हिस्सा बाग्मती प्रदेशको रहेको छ । चालु आवमा बाग्मती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा १६ खर्ब ७ अर्ब हुने अनुमान विभागले गरेको छ ।
देशको अर्थतन्त्रमा सबैभन्दा कम ४ प्रतिशतको योगदान गर्ने कर्णाली प्रदेशको उपभोक्ता मूल्यमा आधारमा कुल गार्हस्थ्य उत्पादन १ खर्ब ७२ अर्बको हाराहारीमा हुने अनुमान विभागकोे छ । गत आवमा जस्तै चालु आवमा पनि बाग्मती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढि योगदान पुर्याउने प्रदेशहरु क्रमश प्रदेश १, लुम्बिनी प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश छन् ।
चालु आवमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर राष्ट्रिय तहमा उपभोक्ता मूल्यमा ४.०८ प्रतिशत रहने अनुमान गरिएकोमा बाग्मती प्रदेशको वृद्धिदर सबैभन्दा बढि ४.७ प्रतिशत र सुदुरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.४ प्रतिशत रहने अनुमान विभागले गरेको छ । संशोधित अनुमान अनुसार गत आवमा कर्णाली प्रदेशको वृद्धिदर सबैभन्दा बढि ०.७ प्रतिशत र सबैभन्दा कम दर बाग्मती प्रदेशको ३.६ प्रतिशत नकारात्मक रहने देखिन्छ ।
औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापहरुलाई हेर्दा गत आव र चालु आवमा बाग्मती प्रदेश बाहेक सबै प्रदेशहरुमा कृषि क्षेत्रको योगदान मूख्य रहेको छ । बाग्मती प्रदेशको थोक तथा खुद्रा ब्यापार क्षेत्रको योगदान सबैभन्दा बढि देखिन्छ । यसो हुनुमा यस प्रदेशमा शहरीकरण, बढि जनसंख्या, राष्ट्रिय तहका ठुला व्यापारिक कारोबार लगायत रहेको विभागले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगेटेको ब्यापार क्षेत्र प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सा मै कायम रहेको छ भने बाग्मती प्रदेशमा घरजग्गा सम्बन्धि व्यवसायिक कारोबारको हिस्सा दोस्रो स्थानमा रहेको छ । यसैगरी गण्डकी प्रदेश कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो रहेको विभागले जनाएको छ । बाग्मती प्रदेश बाहेक सबै प्रदेशहरुको कुल गार्हसथ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया