नेपालको धितोपत्र बजार पूँजीकरण आइतबार कुल ग्राहस्थ उत्पादनका आधारमा ९६ प्रतिशत माथि पुगेको छ ।
कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन र बैंकिङ्ग प्रणालीमा कायम भएको अधिक तरलताका कारण लगानीको क्षेत्र शेयर बजार पर्दा धितोपत्रको कुल बजार पूँजीकरण देशकै कुल ग्राहस्थ उत्पादनको नजिक पुगेको हो ।
केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ ।
जेठ २ गते आइतबार कायम भएको कुल बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ९६.३६ प्रतिशत हुन आउँछ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार ३८ खर्ब ६ करोड २ लाख रुपैयाँ रहेको छ । गत बैशाख २ गते कायम भएको २७३५.४० बिन्दु तोड्दै आइतबार २७३८.३० बिन्दु कायम हुँदा कारोबार रकम पनि गत माघ २५ पछि दोस्रो ठूलो भएको छ ।
दैनिक सूचक र कारोबार रकममा एकपछि अर्को रेकर्ड तोडिँदै जाँदा आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख रुपैयाँ पुगेको छ । यसअघि माघ २५ गते १० अर्ब ४४ करोड ११ लाखको कारोबार भएको थियो । यस्तै नेप्से परिसूचक पनि ५४.२१ अंकले बढेको छ ।
दोस्रो बजारमा सूचीकृत कम्पनीको मूल्य बढेसँगै आइतबार शेयर बजारको कुल बजार पूँजीकरण ३८ खर्ब ६ करोड २ लाख रुपैयाँ पुगेको छ । गत बिहीबार ३७ खर्ब २४ अर्ब ५५ करोड २८ लाख रुपैयाँ रहेको बजार पूँजीकरण आइतबार मात्रै ७५ अर्ब ५० करोड ७४ लाख रुपैयाँले बढेको हो ।
कुल ग्राहस्थ उत्पादनको आधार शेयर बजार ‘फेयर भ्यालू’ बाट ‘ओभर भ्यालूड’ तर्फ गएको हो । पछिल्लो समयमा निरन्तर सुधार धितोपत्र बजारमा सूचीकृत धेरै शेयर मूल्य उच्च बिन्दुमा पुगेको हुनाले ओभर भ्यालुडको नजिक पुगेको हो ।
धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको भने समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।
कोरोना भाइरसले आर्थिक गतिविधि अस्तव्यस्त भएपछि शेयर बजार भने निरन्तर नयाँ उचाई तर्फ देखियो । हरेक दिन जसो शेयर बजारले नयाँ रेकर्ड समेत बनाउँदै आएको छ । लगानीका क्षेत्र सीमित भएपछि उद्योगी व्यापारी लगायतले शेयर बजारलाई एक मात्र लगानीको क्षेत्र बनाएपछि निरन्तर बढ्दो क्रममा रहेको हो ।
अर्थतन्त्रको विपरित गतिमा निरन्तर बढीरहेको धितोपत्र बजार हालसम्मकै ठूलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ते नीतिले पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ ।
धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।
नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया