गौशालामा ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ

0
Shares

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् ।  मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् ।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेको हो ।

उक्त अक्सिजन सेवा सहितको ५१ शैयाको आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे ।

उपप्रधानमन्त्री पोखरेलले भने ‘कोभिड विरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने लडाईं हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाईंको मोर्चामा डहामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ ।

तीन सय शैयासम्म सञ्चालन गर्न सकिने यस आइसोशलेन केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए ।

एक वर्ष अघि कोभिडको पहिलो लहर चलेको बेला नेपालमा कोभिड परीक्षण गर्ने प्रयोगशाला नभएर विदेश पठाउन परेको अबस्था स्मरण गर्दै उपप्रधानन्त्री पोखरेलले भने – ‘अहिले देशका ८६ ठाउँमा कोभिड ल्याब स्थापना गरेका छौंं, केन्द्रदेखि स्थानीय तहसम्म कोभिडको उपचार गर्ने अस्पताल स्थापना गरेका छौं । दोस्रो लहरमा अक्सिजनको जोडजामका कारण समस्या भएको छ । ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा हाहाकार सिर्जना भएको हो । हामी यो अभावलाई जति सक्दो चाँडो पूरा गर्न चाहन्छौं ।’

सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिए । सात वटै प्रदेशमा सात वटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार  १४ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।