फाइजर खोपलाई ‘लामो समय फ्रिजमा भण्डारण गर्न सकिने’

0
Shares

युरोपेली सङ्घ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।

युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।

यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो ।

यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो ।

फब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो ।

सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो । यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचका बालबालिकासमेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार  १४ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।