नेपालको शेयर बजार हाल सम्मकै उच्च विन्दुमा पुगेको साता कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो साता पाँच कारोबार दिनमा ५२ अर्ब ६० करोड बढीको शेयर कारोबार भएको छ ।
गत मंगलबार नेप्से हालसम्मकै सर्वाधिक उचाईमा २७९३ विन्दुमा पुगेको थियो भने बुधबार कारोबार रकमले नयाँ रकेर्ड कायम गरेको थियो। यस साताको चौथो दिन अर्थात् जेठ ५ गते बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर कारोबार भएको हो ।

यो साता औषतमा १० अर्ब ५२ करोड बराबरको शेयर कारोबार भएको थियो। पाँच कारोबार दिनमा ५२ अर्ब ६० करोड बढीको शेयर कारोबार रकम गत साताकोभन्दा २३ अर्ब ९८ करोडले बढी हो । गत साता पाँच कारोबार दिनमा २८ अर्ब ६१ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको थियो ।
यो साता १० करोड ८७ लाख ७१ हजार ८८९ कित्ता शेयर कारोबार भएको छ । धेरै कित्ता कारोबारमा पनि यो नयाँ रेकर्ड हो । कारोबार कित्ता गत साताभन्दा साता ४ करोड ८ लाख ३४ हजार ८६१ कित्ता बढी हो । गत साता ६ करोड ७९ लाख ३७ हजार २८ कित्ता शेयर कारोबार भएको थियो ।
यो साता सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेपाल पुनर्बीमा कम्पनीको सातामा ३ अर्ब ९ करोड ५० लाख ४४ हजार बराबरको शेयर कारोबार भएको छ । यसै साता दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या समेत ६ लाख नाघेको छ ।
लगानीको अन्य विकल्पहरु नहुँदा शेयर बजारप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएकाले केहि समय बजारले गति लिने विश्लेषणहरु हुने गरेका छन् । हाल १० प्रतिशत लगानीकर्ताले मात्र ब्रोकरको भरमा कारोबारमा गर्ने गरेका छन् भने ९० प्रतिशत लगानीकर्ता अनलाईन कारोबारमा सहभागी भएको नेप्सेको भनाइ छ ।बजारले गति लिईरहँदा यसलाई प्रभावित गर्ने गतिविधि हुन नदिन नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि निकै कडाई गरिरहेको छ ।
लगानीकर्ताको उच्च आकर्षणकै कारण यो साता नेप्से परिसूचक १०३ दशमलव १७ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा रहेको बजार यो साताको अन्तिम कारोबार दिन २ हजार ७८७ दशमलव १८ विन्दुमा पुगेको छ । यो साताको पाँच कारोबार दिनमध्ये चौथो दिन मात्र बजार १३ दशमलव शून्य ९ विन्दुले घटेको छ भने बाँकी ४ दिन बढेको छ ।
यो साता बजारका सबै सूचकहरु सकारात्मक बन्दा बजारको आकार अर्थात् कुल बजार पूँजीकरण रकम पनि ३८ खर्ब ६७ अर्ब ६१ करोड ६० लाख १८ हजार पुगेको छ । गत साताको भन्दा कुल बजार पूँजीकरण यो साता १ खर्ब ४३ अर्ब ६ करो ३० लाख ३७ हजार बढी भएको हो । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ३७ खर्ब २४ अर्ब ५५ करोड २० लाख ८१ हजार थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया