मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट पारित गरेको छ । मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएसँगै अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी गरकोे छ। चैतर्फी विरोधका बाबजुत सरकारले अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नरहेको संकटपूर्ण अवस्थामा सरकारले अध्यादेशबाटै आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्न लागेको हो । 

संविधानतः वार्षिक बजेट जेठ १५ गते प्रतिनिधिसभा संसदबाट सार्वजनिक गर्ने नियम भएपनि अहिलेको अवस्थामा प्रतिनिधिसभा नै विघटन गरिएकाले सरकारले सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेको हो।
अध्यादेशमार्फत आउने यो बजेट संविधान निर्माणपछिको पहिलो अध्यादेश बजेट हुनेछ ।
सरकारले करिब साढे १६ खर्ब रुपैयाँ बराबरकोे बजेट ल्याउने भएको छ । जसमा स्रोत व्यवस्थापनका लागि ११ खर्ब बराबरको रकम राजस्वबाट, साढे दुई खर्ब आन्तरिक ऋण उठाएर तथा बाँकी रकम वैदेशिक सहायता तथा ऋणबाट जुटाउने अर्थमन्त्रालयको योजना छ ।
राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षको लागि १६ खर्ब ९७ अर्ब बजेट आवश्यक पर्ने सुझाव दिएको थियो। सिलिङ्गको आधारमा सरकारले साढे १६ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने बुझिएको छ ।
अर्थमन्त्रीका रूपमा पौडेलको यो दोस्रो बजेट हो। ५ वर्षअघि उनले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएका थिए।
चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए । बजेट खर्च गर्ने क्षमता नभएपछि अर्थमन्त्री विष्णु पौडेलले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ झारेका थिए।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया